वेबटिभी खबर
महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताएका छन् ।
आज महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पुर्याउन पर्ने उल्लेख गरेका छन् ।
उनले भने, ‘हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन् । यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन ।’
अझै मधेस आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा आफ्ना कार्यकर्ताले मुद्दा खेपिरहेका उनले बताए । कार्यक्रममा अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नुपर्ने उल्लेख गरे ।
सोमबार बर्दिवासमा सम्पन्न बैठकमा पार्टीका शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहितको उपस्थिति रहेको थियो ।
मधेस प्रदेश समितिको विस्तारित बैठकको मुख्य छलफलको विषय नै मधेस मुद्दा र मधेसमा दलको रणनीति बनाउनु रहेको दलका प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।
उनले भने, ‘हामी प्राप्त सफलता÷असफलताको मिहिन तवरले विश्लेषण गरेर अघि बढ्दैछौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij