वेबटिभी खबर
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरमा आर्थिक मन्दीको नराम्रो प्रभाव परेको छ । व्यापार खस्कँदो छ । व्यापारीहरु ऋण तिर्न नसकेर भाग्नु पर्ने अवस्था आएको छ ।
व्यापार नभएपछि पसलहरु बन्द हुने मात्रै होइन बैंकको ऋण तिर्न नसक्दा असुल उपरका लागि बैंकले लिलामको सूचना गर्दा लिलाम सकार्ने (बोलकबोल गर्ने) मान्छेसमेत भेटिँदैनन् । आफ्नो पसल अगाडि वर्षौंदेखि फार्मेसी सञ्चालन गर्दै आएका व्यापारीको घर लिलाम हुने अवस्था आएपछि वाणिज्य संघको नेतृत्वमा रहेका पदाधिकारीले सस्तो मूल्यमा घर खरिद गरिदिएको चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्षसमेत रहेका सुनचाँदी व्यवसायी पवन ठाकुरले जानकारी दिए ।
‘वर्षौंदेखि फार्मेसी पसल सञ्चालन गर्दै आएका व्यवसायी रातारात पलायन भएका छन् । बैंकको ब्याज तथा अन्य साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि उहाँ तनावमा हुनुहुन्थ्यो,’ उनले भने, संघका एक पदाधिकारीले आफूलाई तिनुपर्ने ऋण कटाएर बाँकी केही रकम थपेर घर लिएको सुन्नमा आयो । त्यसैगरी अरू धेरै व्यापारी पलायन हुँदैछन् ।’
विगत केही महिनामा १०/१२ लिलामी सूचना प्रकाशित भएको भन्दै लिलाम सकार्ने मान्छे नभेट्दा संघको रोहवरमा समस्या समाधान गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । ‘व्यापारीले ऋण तिर्न नसक्ने र लिलाम गर्दा किन्ने मान्छे नभेटिने अवस्थाले यहाँको विकराल अवस्थालाई प्रष्ट्याउँछ,’ उनले भने, ‘अब व्यापार÷व्यवसाय सुरु गर्नुभन्दा पहिला सबैले सोच्ने बेला आएको छ ।’
संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले यहाँको अर्थतन्त्र र व्यापार व्यवसाय ‘स्लिपिङ मोड’ मा रहेको धारणा राखे । तत्काल समाधानको उचित उपाय ननिस्किए समस्या झन् भयावह हुँदै जानेमा उनले चिन्ता प्रकट गरे ।
कसरी आयो संकट ?
कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण सिंगो देशले समस्या भोगिरहेको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरमा पनि यिनै कारणले अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ । मधेस जनविद्रोह, भूकम्प, स्थानीय सरकार आएपछि बाटो विस्तारका क्रममा भएका अवरोध, कोरोना महामारीपछिको लकडाउनले पारेको नकारात्मक प्रभावलगायत कारणले यहाँको व्यवसाय थिलथिलो भएको व्यवसायी जीवनाथ चौधरीले बताए । एकपछि अर्को समस्या थपिएपछि व्यवसायीले टाउको उठाउनै नसक्ने गरी समस्यामा परेका उनले गुनासो गरे ।
‘यहाँको मुख्य आधार भनेको धार्मिक पर्यटन हो । केही वर्षसम्म पर्यटकीय गतिविधि भएका छैनन्,’ चौधरीले भने, ‘आन्दोलन, हडताल, बन्दाबन्दीले लामो समयसम्म सटर बन्द गर्नुपर्यो । आम्दानी नै नभएपछि खर्च कसरी हुन्छ ? सोही कारणले यहाँ व्यापारले गति लिन सकेन् ।’
संघका अध्यक्ष महासेठले पछिल्लो आठ/दश वर्षको अवधिमा दुई/तीन वर्ष व्यापार बन्द गर्नुपरेकाले समस्या झन् बढेको बताए । ‘मधेस आन्दोलन, भूकम्पको प्रभाव त छँदैथियो । विसं २०७४/७५ मा जनकपुरमा सडक विस्तारका साथै ढल निर्माणका बेला करिब छ/सात महिना व्यापार ठप्प भयो,’ उनले भने, ‘लगत्तै कोरोना महामारीका समयमा भएको बन्दाबन्दीले व्यवसायलाई थप संकटग्रस्त बनायो ।’ पटकपटक व्यापार बन्द हुने, घरभाडा र बैंकको ब्याज निरन्तर बढ्ने भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।
समस्याबाटै सुधारको सुरुआत हुने हुँदा राज्यले औद्योगिक क्रान्तिको जग बसाल्ने, आन्तरिक उत्पादन र उपभोक्ताको आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्नेमा व्यापारीले जोड दिएका छन् ।
‘उत्पादनमूलक उद्योग छैनन् । घरजग्गामा लगानी गर्ने परिपाटी निरन्तर बढ्दो छ । यसले दीर्घकालमा अर्थतन्त्र धराशयी हुने देखिन्छ,’ संघका उपाध्यक्ष साहले भने, ‘राज्यले अनुत्पादक क्षेत्रमा लगानी गर्ने कर्जा नीतिलाई निरुत्साहित गर्दै उत्पादनमूलक उद्योगमा सहुलियतमा कर्जाको व्यवस्था गर्नुपर्छ ।’ यहाँका व्यापारीको मनोबल उचो बनाउन र तत्काल समस्या समाधानका लागि रणनीतिक पहलकदमी लिनुपर्नेमा उनले जोड दिए । रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij