वेबटिभी खबर
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा शनिबार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी गरिएको बताए । बिहान ८ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
कर्फ्यु हटाइएपछि मलंगवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चल्न सुरु भएका छन् । सर्वसाधारणहरु आ–आफ्नो दिनचर्यामा व्यस्त हुन थालेका छन् । मलंगवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
व्यक्तिहरुले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर बिरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
मलंगवामा दुई पक्षबीच ढुंगा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नु पर्ने अवस्था आएको थियो । अस्ती शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij