वेबटिभी खबर
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-२ घर भई हाल टोखा नगरपालिका-१० बस्ने २७ वर्षीया तुलसा वाग्ले (अधिकारी) र झापाको गौरादह नगरपालिका-७ घर भई हाल काठमाडौंको कागेश्री मनोहरा नगरपालिका-१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
वाग्लेलाई खिमलाल बढामगरसहित दुई जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको र पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै दश लाख पचासी हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीन भवनले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij