हेटौँडा । हेटौँडामा दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।
आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका खेलाडीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विजेतालाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख एक हजार नगदसहित पुरस्कार वितरण गरिने छ ।
क्लबका अध्यक्ष तितुङले प्रतियोगितामा देशभरका १८-२० क्लबको सहभागिता रहने जनाउँदै खेलका लागि १६ लाख खर्च हुने अनुमान गरिएको बताए । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने तितुङको भनाइ छ ।
तीन वर्षअघि स्थापना भएको क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आयोजक आफैँले उपाधि हासिल गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology