Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको काम अन्तिम निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा

साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको काम अन्तिम निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा

  • 45
    SHARES
  • साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको काम अन्तिम निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्‍याइने बताएका छन ।

    images

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयसम्म शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्नु दुःखद् रहे पनि त्यसलाई निष्कर्षमा पुर्‍याउनैपर्नेमा जोड दिए ।

    शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन सम्पन्न भएको जानकारी दिँदै उनले एक हिसाबले पूर्णता पाएको भए पनि केही काम अझै बाँकी भएकाले त्यसलाई पनि छिट्टै पूर्णता दिनुपर्ने उल्लेख गरे । शान्ति प्रक्रिया निष्कर्षमा पुगेको घोषणा गर्न बाँकी रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।

    प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आजदेखि हुन लागेको अमेरिका भ्रमणका क्रममा नेपाली विशेषतासहित शान्ति प्रक्रिया अगाडि बढाइरहेको विश्व समुदायलाई जानकारी गराउने उल्लेख गरे ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री दाहालले नेपाली मौलिक विशेषतासहितको शान्ति प्रक्रियाका बारेमा जानकारी गराउने स्पष्ट गर्दै यसलाई थप निष्कर्षमा पुर्‍याउनका लागि विश्व समुदायलाई अपिल गर्ने बताए ।

    जलवायु परिवर्तनका कारण विश्वव्यापीरूपमा परेको प्रभाव तथा नेपालले भोग्नुपरेको समस्याका कारणसमेत प्रधानमन्त्रीले महासभामा विश्व समुदायको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।

    यस्तै अल्पविकसित देशहरूको अध्यक्षको हैसियतले प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जान लागेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसलाई समयको चापका कारण स्वाभाविकरूपमा लिन आग्रह गरे ।

    चीन भ्रमणको क्रममा द्विपक्षीय सम्बन्ध विस्तार एवम् विकास निर्माणलाई अगाडि बढाउने गरी प्रधानमन्त्री दाहालले आवश्यक तयारी गरेको स्पष्ट पारे । पार्टीले अगाडि बढाएको देशव्यापी रुपान्तरण अभियानले नयाँ उत्साह पैदा गरेको उनको भनाइ छ ।

    अभियानका क्रममा विकास निर्माणको काम अगाडि बढाइएको तथा जनतासँग सम्बन्ध विस्तारमा केन्द्रित गरिएको सापकोटाले जानकारी दिए । पार्टीले सञ्चालन गरेको अभियान सकारात्मकरूपमा अगाडि बढेको र जनताको साथ र अगाध समर्थन पाएको प्रवक्ता सापकोटाको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology