Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

परम्परागत खेती छाडेर व्यावसायिक आलु र सिमी खेती

परम्परागत खेती छाडेर व्यावसायिक आलु र सिमी खेती

  • 57
    SHARES
  • परम्परागत खेती छाडेर व्यावसायिक आलु र सिमी खेती

    म्याग्दी । म्याग्दीको रघुगंघा गाउँपालिका-८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदो खेती हुने बारीमा व्यवसायीक सिमीखेती गरेका छन ।

    images

    परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए ।

    करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएको छन्त्यालको भनाइ छ ।

    छन्त्याल जस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले परम्परागतरूपमा हुने कोदो, मकै, जौँ, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका हुन ।

    चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि स्थानीयवासीले आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको बताउँछन् ।

    जिल्ला कृषि ज्ञान केन्द्र र रघुगंघा गाउँपालिकाले समेत कुइनेमङ्गलेलाई आलु र सिमी पकेट क्षेत्र घोषणा गरेका छन ।

    यस गाउँको करिब एक हजार दुई सय रोपनीमा अहिले सिमी खेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले जानकारी दिए ।

    आलु खेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको उनले बताए।

    आलु खनेर घरमा भित्र्याइसकेर बिक्री गर्न थालेका स्थानीयको बारीमा सिमी फल्न थालिसकेको छ । बारीभरि थाक्रोमा सिमी लहलह भएका छन । सिमीको बोटमा कोसा लाग्न थालिसकेको छ ।

    रैथाने खाद्य बाली पाक्न पाँचदेखि छ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्री गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जनमा सघाउ पुर्‍याएको छ ।

    तीन महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमी खेतीले व्यावसायिकता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले जानकारी दिइन ।

    सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मङ्गलेखानीसम्म सडकको पहुँच पुगेकाले यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको अध्यक्ष छन्त्यालले बताइन् ।

    ‘यहाँ आलु पहिलेदेखि नै हुने गथ्र्यो, तर बिक्री भने हुने थिएन, स्थानीयवासीले आफैँले प्रयोग गर्ने र आफन्तलाई कोसेलीका रूपमा पठाउने चलन थियो, तर गाउँमा सडक आएपछि गाउँको आलु बेनी, पोखरालगायतका बजारमा पुग्न थालेको छ, गाउँबाट सिमी पनि निर्यात हुन थालेको छ, कच्ची सडकको अवस्थालाई बाह्रै महिना सञ्चालन हुने बनाउन सकेमा यहाँका धेरै कृषकलाई राहत हुने थियो’, अध्यक्ष छन्त्यालले भनिन् ।

    यो गाउँमा आलुबाट मात्रै वार्षिकरूपमा ६० लाख बढी नगद भित्र्ने गर्छ । यो वर्ष विगत वर्षको तुलनमा आलुको उत्पादन बढेको छ ।

    बजारमा माग नबढेका कारण अझै पर्याप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताए ।

    परीक्षणको रूपमा गरिएको सिमी खेती सफल भएपछि तीन वर्षदेखि समूह नै दर्ता गरेर व्यावसायिकरूपमा खेतीलाई विस्तार गरिएको उनको भनाइ छ ।

    ‘पहिले गाउँको बारीसँगै जंगलका पाखोबारीमा समेत आलु खेती गर्ने चलन थियो, उत्पादन भएको आलुले बेँसीमा अन्न सटही हुन्थ्यो, तर अहिले उन्नत जातको आलु र रैथाने बाली छाडेर सिमी खेती गर्न थालेपछि दुःख पनि कम भएको छ, उत्पादन पनि बढेको छ’, कृषक छन्त्यालले भने ।

    यस गाउँका हरेक घरले तीनदेखि पाँच टन आलु उत्पादन गर्छन् । आलु खेती गरेको अधिकांश जमिनमा अहिले सिमी खेती गरिएको छ । हरेक घरले दुईदेखि आठ मुरीसम्म सिमी उत्पादन गर्छन् ।

    यहाँ उत्पादन भएको सिमी प्रतिपाथि छ सयमा बिक्री हुने गरेको छ । गत वर्ष रघुगङ्गा गाउँपालिकाले मङ्गलेका कृषकलाई अनुदानमा आलुको बीउ, सिँचाइ पाइप, बोरा, रोग कीरा नष्ट गर्ने विषादीलगायत सहयोग गरेको थियो।

    गाउँमा आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था आएकाले स्थानीयवासीले यस क्षेत्रमा चिस्यानगृह भवन निर्माण गर्न माग गरेका छन । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology