सर्लाही । सर्लाहीको कबिलासी नगरपालिकाले बनाउन ठेक्का लगाएको १५ बेडको अस्पताल भवन निर्माण कार्यमा व्यापक ढिलासुस्ती भएको छ । अस्पताल भवनको जग हाले पनि थप काम नहुँदा वर्षाले डुबानमा परेको छ । जगमा हालिएका फलामे रड पानीमा डुबेर खिया लागेकोले भवन बने पनि कमसल हुने आशंकामा स्थानीय छन् ।
ठेक्का लागेको १४ महिनाको अवधिमा जम्मा जगको मात्र काम भए पनि नगरपालिकाको मिलेमतोमा रकम निकासा गरिएको स्थानीयले आरोप लगाएका छन् । कबिलासी नगरपालिका–५, रनियामा आधारभूत अस्पताल निर्माणको नाममा चरम भ्रष्टाचार भएको स्थानीयले बताएका छन् । नगरपालिकाले २०७९ असार १३ गते भ्याटसमेत २१ करोड ८६ लाख ८४ हजार, ९ सय ७७ रुपैयाँ ४९ पैसामा मिशन– डि एण्ड एन जेभी, बानेश्वर–१०, काठमाण्डौसँग सम्झौता गरि कार्यादेश दिइएको थियो ।
२०८२ असार १५ गते भित्र तोकिएको गुणस्तरमा कार्यसम्पन्न गर्नुपर्नेमा अहिले १ वर्ष २ महिना बितिसक्दा पनि अस्पतालको निर्माण कार्य निराशजनक छ । नगरपालिकाले ठेकेदार कम्पनीलाई चार करोड भुक्तानी दिए पनि रकमअनुसार काम नभएको स्थानीयले गुनासो गरे । कबिलासी नगरपालिकाका पूर्वमेयर कौशलकिशोर यादवले भुक्तानी अनुसारको अस्पताल भवन निर्माणको काम नभइ मोबिलाइजेसन र अन्य रकम निकासा गरिनुमा नगरपालिकाको पनि मिलेमतो भएको आरोप लगाए ।
यादवले अस्पतालको निर्माण कार्य नै गुणस्तरहीन भएको उल्लेख गरे । गुणस्तरहीन काममा पनि असार मसान्तका बेला भुक्तानी दिइएको उनले बताए । अस्पताल निर्माणमा लापरबाही गर्न ठेकेदारलाई छुट दिने कार्यमा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखाका कर्मचारी, र प्राविधिकको मिलेमतो भएको यादवको आरोप छ ।
कबिलासी नगरपालिकामा अहिलेसम्मकै निर्माण कार्यमध्ये अस्पताल भवन ठूलो प्रोजेक्ट रहेको तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्झौता लगत्तै काम सुरुवात नगर्नु र पछि निर्माण कम्पनीले काम गरेको डेढ महिनामा नै नगरपालिकाले करोडौं रकम भुक्तानी गर्नुबाट मिलेमतोमा भ्रष्टाचार भएको गन्ध आउने यादवको भनाइ छ ।
स्थानीय श्रीनारायण मण्डलले अस्पताल निर्माणमा हालसम्म बढीमा ६० लाखजति खर्च भए पनि चार करोड भुक्तानी गरिनु गलत भएको बताए । नगरपालिका र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार भएको उनी बताउँछन । निर्माणाधीन अस्पताल भवनको जग डुबेर सबै रडमा खिया लागेको भन्दै उनले भने, ‘खुट्टामा क्यान्सर लागे बिरामी बचाउन डाक्टरले खुट्टा काट्नेसमेत गर्छन् । यहाँ तीन तल्ले अस्पताल भवनको जगको रडमा क्यान्सर (खिया) लागेको छ ।’
मिशन– डि एण्ड एन जेभी निर्माण कम्पनीले भवन निर्माण सम्झौता गरे पनि जनकपुरको एउटा निर्माण कम्पनीलाई पेटी ठेक्का दिएको बताइएको छ ।
कबिलासीका नगरप्रमुख ब्रम्हदेव राय अस्पताल निर्माण कार्य सन्तोषजनक नहुनुमा ठेकेदार कम्पनीको बदमासी रहेको बताउँछन । विपक्षीले यही विषयलाई लिएर आफूलाई बदनाम गराउने प्रयास गरेको जिकिर उनको छ । ‘हामीले कडाइका साथ ठेकेदार कम्पनीलाई पत्राचार गरेका छौं,’ नगरप्रमुख रायले भने, ‘हामीले कुनै भ्रष्टाचार गरेको छैन, पालिकाले हालसम्म ठेकेदार कम्पनीलाई मात्र परिचालन वापत नियमानुसार बैंक धरौटी राखी २० प्रतिशत रकम दिएको छ । निर्माण कम्पनीलाई गुणस्तरीय काम समयमै गर्न लगातार फोनबाट दबाब दिने गरेका छौं ।’ गुणस्तरीय निर्माण कार्य नभए कारबाही गरिने नगरप्रमुख रायले चेतावनी दिए ।
स्थानीको व्यापक गुनासो आउन थालेपछि नगरपालिकाले गएको भदौ २६ गते मिशन– डि एण्ड एन जेभीलाई अविलम्ब कार्य सुचारु गर्न पत्राचार गरेको छ । निर्माण व्यावसायीले काममा ढिला सुस्ती गरेको र मौखिक रुपमा बारम्बार ताकेता गर्दा समेत नटेरेकाले सात दिन भित्र कार्य अनिवार्य सुचारु गर्न पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहले जानकारी दिए ।
नगरपालिकाले बनाउन थालेको अस्पताल भवनमा व्यापक भ्रष्टाचार भएको भन्दै सामाजिक सञ्जालमा स्थानीयले चर्को आलोचना गरिरहेका छन् । स्थानीयको आलोचना बढ्न थालेपछि नगरपालिकाकी उपमेयर पुनम कर्णले कार्यपालिका सदस्य र प्राविधिक टोली लिएर भवन निर्माणको अनुगमन गरेकी छिन् ।
उनले अस्पताल भवन निर्माणमा लापरबाही भएको स्वीकारेकी छिन् । अस्पताल निर्माणकार्य निराशाजनक रहेको र हालसम्म भएको काम पनि पानीले डुबानमा पार्दा गुणस्तर कायम नहुने अवस्था देखिएको बताएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology