Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

व्यावसायिक बाख्रापालनबाट ८२ लाख आम्दानी

व्यावसायिक बाख्रापालनबाट ८२ लाख आम्दानी

  • 221
    SHARES
  • व्यावसायिक बाख्रापालनबाट ८२ लाख आम्दानी

    स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-३ गल्याङ बजारका गंगाप्रसाद श्रेष्ठ व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन ।

    उनले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन । उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् ।

    उनको फार्ममा दुई सयको हाराहारिमा स्थानीय जातका कुखुरा, टर्की, हाँस छन भने १२ रोपनी जमिनमा करिब १३ प्रजातिका घाँस लगाएका छन । करिब रोपनी क्षेत्र फलमा फैलिएको उनले फार्ममा हालसम्म ७० लाख लगानी गरिसकेको र चार वर्षको अवधिमा ८२ लाख आम्दानी गरेको जनाए ।

    नेपाल बाख्रापालन महासंघ स्याङ्जाका अध्यक्षसमेत रहेका श्रेष्ठले गल्याङ नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित श्रीमती अनिता श्रेष्ठको नाममा फार्म दर्ता गरेर व्यवसाय दर्ता गरेको बताए ।

    उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरुका लागि उदाहरण बन्न सकिन्छ कि भनेर बाख्रापालन गरेको दाबी गरे ।

    ‘व्यावसाय सञ्चालनको सुरुमा खासै ज्ञान नभएर होला गाह्रो महसुस भएको थियो, सुरुआती अवस्थामा निमोनियाले ४४ वटा बाख्रा मरे,’ श्रेष्ठले भने, ‘अहिले बाख्रा पाल्ने काम सजिलो लाग्न थालेको छ, पालेका सबै बाख्रा पोषिला छन् ।’

    श्रेष्ठले एकजना साथीसँगको सहकार्यमा २८ बाख्राबाट व्यवसाय सुरु गरेको थिए । ‘बीउ उत्पादन गर्ने सोचका साथ बेल्टारीबाट बोयर बोका र माउ ल्याएर बाख्रा पाल्न सुरु गरियो,’ श्रेष्ठले भने, ‘माउ उत्पादनको काम फस्टाउन नसकेपछि मासु उत्पादनका लागि बाख्रा पाल्न सुरु गरियो । यहाँ उत्पादिन बाख्रा स्याङ्जाका स्थानीय बजारसहित पोखरा, काठमाडौँ लगायतका बजारहरुमा निर्यात हुने गरेका छन ।’

    श्रेष्ठले गल्याङ बजारमा किराना पसलसमेत सञ्चालन गरेका छन । उनले गल्याङ बजारमा सफल युवा व्यावसायिकका रुपमा पहिचान बनाएका छन । श्रेष्ठ गल्याङ युवा क्लबको अध्यक्ष, गल्याङ चेम्बर अफ कमर्स र गल्याङ नेवा समाजको पूर्वअध्यक्ष भएर काम गरिरहेका छन ।

    उनले जिल्ला भेटेरिनरीबाट खोर सुधार कार्यक्रमअन्तर्गत ९९ हजार पाँच सय, गल्याङ नगरपालिकाबाट एक वर्ष पहिले २५ हजार र चाँपकटर अनुदान पाएका छन । श्रेष्ठले गल्याङ नगरपालिका र वडा कार्यालय नजिकको भएर पनि आफूलाई वास्ता नगरेको आरोप लगाए ।

    ‘गल्याङ नगरपालिकाभित्र मैले जत्तिकै गुणस्तरीय बाख्रा उत्पादन गर्ने किसान कोही छैन होला,’ श्रेष्ठले भने, ‘तर पनि गल्याङ नगरपालिकाका प्रमुख र वडाअध्यक्ष मेरो फार्म अवलोकन गर्न नआउँदा दुःख लागेको छ ।’

    ‘काजज मिलाएर अनुदान खाने प्रचलनका कारण बाख्रा पाल्नेहरु २५ प्रतिशतले घटेका छन्, देश छोड्नेहरुको अवस्था कहालिलाग्दो छ,’ श्रेष्ठले थपे, ‘कृषकको फार्ममै पुगेर उत्पादनका आधारमा सरकारले अनुदान दिनुपर्छ, सहरमा घर हुनेलाई मात्र होइन गाउँका किसानलाई पनि सरल तरिकाले सस्तो ऋणको व्यवस्था गरिदिनुपर्छ, यसो भएमा मात्र बाख्रापालक कृषक टिक्न सक्छन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij