Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कम मूल्यमा आलु बिक्री गर्दै किसान

कम मूल्यमा आलु बिक्री गर्दै किसान

  • 238
    SHARES
  • कम मूल्यमा आलु बिक्री गर्दै किसान

    भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका हुन ।

    आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । गत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ-५ चोलन्तीका पुष्कर विष्टले बताए ।

    किसानले गत वर्ष प्रतिकिलो ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो २५ मा बिक्री गर्न थालेको उनको भनाइ छ । चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् ।

    ‘यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ’, विष्टले भने, ‘मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ ।’

    यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन । यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा  गिरावट आएको छ । लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले दुई हजार पाँच सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उनले जानकारी दिए ।

    आलुबाट मेहनतअनुसारको प्रतिफल नपाएपछि निरासा थपिएको विष्टको भनाइ छ । ‘आलुको उचित मूल्य नपाए पनि कुहिने बिग्रने डरले बिक्री गरे’, विष्टले भने, ‘लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो । आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो । राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो ।’

    ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई २८ तथा घरमा पुगेर २५ मा खरिद गर्ने गरेका छन । यहाँको चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

    चोलन्ती गाउँबाट मात्र यस वर्ष करिब १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौंलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताए ।

    ‘यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मुल्य छैन’, लालबहादुरले भने, ‘यहाँका किसानको घरबाट प्रतिकिलो २५ देखि २८ मा खरिद गरेर लैजाँदै आएका छौँ । विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो । तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन ।’

    मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हीरालाल लुइँटेलले बताए । मूल्यको कारण यहाँका अधिकांश  किसानको आलु बिक्री नभएको उनको भनाइ छ।

    ‘हाम्रो मझौले र चोलन्ती गाउँमा आलुको धेरै उत्पादन हुन्छ’, लुइँटेलले भने, ‘आलुले यस वर्ष राम्रो मूल्य पाउन सकेन । मझौले गाउँका धेरै किसानको आलु हालसम्म बिक्री भएको छैन । किसान मूल्यको पर्खाइमा बसेको अवस्था छ ।’

    उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ । बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उनले बताए ।

    ‘उत्पादन भएको आलुको उचित मूल्य लिएर बिक्री गर्न सकिएको छैन’, लुइँटेलले भने, ‘भण्डारण गरेको ठाउँमा आलु कुहिन थालेको अवस्था छ । राज्यले उत्पादित आलुलाई बजारीकरणमा सहयोग गरे हामीलाई राहत पुग्ने थियो ।’

    मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताए । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुको खेती गर्दै आएका छन ।

    यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij