सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा पाँच दिनदेखि लगाइएको कर्फ्यु आदेश सोमबारदेखि दिउँसोलाई निष्क्रिय गरिएको छ । राति भने कर्फ्यु यथावत जारी राखिएको छ ।
सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको कर्फ्यु दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।
गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलंगवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि यहाँ कर्फ्यु जारी गरिएको थियो ।
बिहीबार रातिदेखि अशान्त बनेको मलंगवामा गएरातिदेखि अवस्था समान्य हुँदै गएपछि आजदेखि दिउँसोको कर्फ्यु हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
दिउँसाको अवधिमा करफ्यु आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको प्रजिअ यादवले बताए ।
आज कर्फ्यु हटाइए पनि मलंगवा बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था पूर्णरुपममा बन्द छन् । यता व्यापारीका संघसंगठनले पनि बजार खोल्न अह्वान गरेको छ । कर्फ्युका बेला पनि घटना हुन थालेपछि आइतबार दिउँसोदेखि स्थानीय प्रशासनले उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको थियो । कर्फ्यु उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ ।
गणेशको मूर्ति विर्सजन गर्न जाने क्रममा बिहीबार झडप हुँदा सुरक्षाकर्मीसहित एक दर्जन मानिस घाइते भएका थिए भने छुरा प्रहारबाट एक जना सख्त घाइते भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology