वेबटिभी खबर
झापा । संघीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताएका छन् ।
झापाको बिर्तामोडस्थित निजी सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्लाई कुशलतापूर्वक सञ्चालन गर्न आफू सकेसम्म प्रयासरत रहेको बताए ।
उनले भने, ‘राजनीतिक पार्टी र नेताहरूबीचमा असमझदारी बनेका बेला उनीहरूलाई एकठाउँमा राख्ने काम सकेसम्म भूमिका खेलेको छु । यसमा एक खालको सफलता मिलेको छ ।’
सरकारले ल्याएका ऐन–विधेयकलाई संसद्मा घनिभूत छलफल गराउने काम आफूले गरिररहेको सभामुख घिमिरेको भनाइ छ ।
सरकारले गम्भीरताका साथ ऐन कानून निर्माण लाग्न नसकेको बताउँदै उनले कानुन ल्याए पनि तुरुन्त पछि हट्नुपर्ने अवस्था रहेको चर्चा गरे ।
सभामुख घिमिरेले सरकारले विधेयक ल्याउँदा सरोकारवालाहरूसँग बृहत छलफल गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘संसद्मा विधेयक आउने वित्तिकै त्यसको व्यापाक विरोध भइरहेको अवस्था छ । विधेयक ल्याउँदा सरोकारवालासँग छलफल गरेर उनीहरूको माग र भावना समेट्न आवश्यक छ ।’
झापा क्षेत्र नं २ का संसद्समेत रहनुभएका उनले यस क्षेत्रको विकासमा निरन्तर लागिपर्ने बताए । यस क्षेत्रका जनतासँग गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij