वेबटिभी खबर
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ः३० बजे ती गैँडा खोरमा राखेर कोशी पठाइएको हो । गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी गएको छ ।
वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैँडासँगै कोशी गएको छ । कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो ।
विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो ।
सुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्टनजिक गैँडा राखिँदैछ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिने छ ।
केही वर्षअघि उक्त निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुईवटा गैँडा कोशी पठाइएको बताए । ती दुवै पोथी गैँडा हुन ।
ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरुलाई पुष्पा र अञ्जली नामाकरण गरिएको छ ।
अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका छन । ती गैँडाले अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेकाले पठाइएको हो । पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा रहेको तथ्यांक रहेको छ ।
पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्यांकमा समावेश गरिएको छैन । पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैँडा रहेका छन । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि थप भाले पनि पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ ।
निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा समेत गैँडा पठाइएको थियो । यस निकुञ्जबाट सन् १९८६ देखि गैँडा स्थानान्तरण गर्न थालिएको हो । सुरुआतमा तीन भाले र एक पोथी गैँडा पठाइएको थियो । सोही वर्ष डिसेम्बरमा पाँच भाले र चार पोथी गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार १९९१ मा २५, सन् १९९९ मा चार गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो । यस्तै २००० मा २० वटा गैँडामध्ये १६ वटा बर्दिया राष्ट्रिय निकुञ्ज र चारवटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइएको थियो ।
२००१ मा पाँच, २००२ मा दस, २००३ मा दस, २०१६ मा पाँचवटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो । यस्तै २०१७ मा पाँचवटा शुक्लाफाँटा र तीनवटा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । पठाइएकामध्ये ४५ भाले र ५५ वटा पोथी गैँडा थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij