Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

  • 197
    SHARES
  • चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    उनले भने, ‘चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ ।’

    चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गरे ।

    उनले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमणको घटना भएका छन् । त्यसमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अगाडि बढ्छ । त्यसमा कुनै प्रकारको द्विविधा नराख्न र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन मातहतको निकायलाई कडा निर्देशन जारी भइसकेको छ ।’

    छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताए ।

    उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको बताए ।

    नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्कीले सरकारले चिकित्सकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै ढुक्क भएर काम गर्ने वातावरण बनाइदिनुपर्ने बताए ।

    उनले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न आग्रह गरे ।

    नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले कुनै पनि वहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने बताए ।

    आक्रमणकारीलाई कारबाही र सूचना पाटी राख्ने छलफलको निष्कर्ष

    छलफलले देशभरका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही गर्ने निष्कर्ष निकालेको छ ।

    बैठकले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील पेसामा रहेका व्यक्तिमाथि कुटपिट गर्नेलाई चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र त्यसका लागि मातहतका निकायमा सर्कुलर जारी गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा भौतिक आक्रमण गरेको अवस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीबाट उपचारका क्रममा कमजोरी गरेको भए कारबाही गर्ने ऐनको प्रावधानका बारेमा सबै स्वास्थ्य संस्थामा जानकारीमूलक सूचना पाटी राख्ने निष्कर्ष निकालेको छ । यसको समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij