वेबटिभी खबर
कञ्चनपुर । बितेका आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेंगु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा गरी गरी तीन जनाको मृत्यु भएको जानकारी दिए ।
उनले भने, ‘तथ्यांकअनुसार यहाँ गत माघयता आठ सय ७७ जनामा सङ्क्रमण देखिसकेको छ । तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण हुँदै आएको छ ।’
यहाँ सुदूरपश्चिम प्रदेश सरकारले संक्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लाका स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।
यहाँ गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेंगुको सङ्क्रमण यस पटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । संक्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।
त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेंगु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताए ।
उनले भने, ‘कञ्चनपुरमा संक्रमितमध्ये ८५ प्रतिशत भीमदत्त नगरपालिकामा प्रभावित छन् । भीमदत्तका १९ वटै वडामा रोकथामका लागि सक्रियता बढेको छ ।’
उनले वडा वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायत काम चलिरहेको बताए ।
उनले भने, ‘स्थानीय तहसँग मिलेर ‘लार्भा खोज, नष्ट अभियान’ पनि सबै पालिकामा सञ्चालन गरेका थियौँ । पानी पर्ने क्रम चलिरहेकाले अझै यसको जोखिम कायम छ ।’
उनले यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट पनि नौवटै पालिकालाई पत्राचार भएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij