वेबटिभी खबर
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् ।
आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनीहरूबीच नेपाल-जर्मनीबीचको कूटनीतिक सम्बन्धमा विषयमा छलफल भएको थियो ।
सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले यस सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए ।
उनले भने, ‘उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा सम्वाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल-जर्मनी सम्बन्धका आधार स्तम्भ हुन् । जर्मनी नेपालको प्रमुख विकास साझेदार हो । नेपालले सामाजिक आर्थिक विकासका सवालमा जर्मन सरकारबाट सन् १९६१ देखि सहायता प्राप्त हुँदै आएको छ ।’
उपराष्ट्रपति यादवले कोभिड-१९ सङ्क्रमणको समयमा सहयोग प्रदान गरेकोमा जर्मन सरकारप्रति आभार व्यक्त गरे ।
उनले भने, ‘युरोपेली संघमा जर्मनीको अत्यन्तै प्रभावशाली भूमिका रहेको छ । हामी नेपाल र युरोपेली संघ बीचको बढ्दो सहकार्यको स्वागत गर्दछौँ । दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न हामी प्रतिबद्ध छौँ । नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी आशावादी छौँ ।’
जलवायु परिवर्तनको क्षेत्रमा जर्मनीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भने, ‘आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा म आशावादी छु ।’
सो अवसरमा राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग गर्दै र ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले ८० नेपालीलाई व्यावसायिक प्रशिक्षणका लागि जर्मनी लगेको जानकारी दिँदै उनले यो क्रम आगामी दिनमा पनि जारी राख्दै यो संख्या पाँच सयसम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij