वेबटिभी खबर
चितवन । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे ।
अर्थमन्त्री डा.महतले भने, ‘अब आर्थिक संकटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन् । मुलुकमा रहेको आर्थिक संकट धेरै समय रहँदैन ।’
आर्थिक संकटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले भने, ‘प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको छ ।’
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा.महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए ।
उनले भने, ‘व्यक्तिले जथाभावी खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको संकट टर्छ ।’
अर्थमन्त्री डा.महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गरे ।
उनले भने, ‘गतल प्रचारका कारण अर्थतन्त्रको विषयमा निरासा छाएको छ, यही कारणले देश जटिलतातर्फ धकेलिएको हो ।’
उनले पूँजी चलायमान नहुँदा पनि समस्या सृजना भएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij