एजेन्सी
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सडकमा लुटेराले ट्याक्सी लुटेपछि चक्कामा बेरिएका चालकलाई दुई सय मिटरसम्म घिसार्दै लगेको भिडिओ सार्वजनिक भएको छ । ट्याक्सीले घिसार्दै लगेको चालकको लाश भेटिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पीडित चालकको ट्याक्सी लुटेर आरोपीहरु भाग्न थालेका थिए । चालकले प्रतिकार गर्दै उनीहरुलाई समात्ने प्रयास गरे । त्यसै क्रममा ट्याक्सी अघि बढाउँदा पीडित चालक चक्कामा बेरिएर घिसारिएका थिए ।
यो घटना गएराति साढे ११ बजे आसपास दक्षिण दिल्लीको महिपालपुर क्षेत्रको हो । उक्त दृष्यको भिडिओ त्यो ट्याक्सी पछाडी आएको कारमा सवार व्यक्तिले आफ्नो मोवाइलबाट बनाएका थिए । भिडिओ सार्वजनिक भएलगत्तै भाइरल बनेको छ ।
भिडिओमा चक्का छेउमा मान्छे झुण्डीएको र ट्याक्सी तीव्र गतिमा कुदिरहेको देखिन्छ । कारमा बेरिएर मृत्यु हुनेमा फरिदाबादका ४३ वर्षीय बिजेन्द्र भएको प्रहरीले जनाएको छ ।
केहीबेर घिसारेपछि मृत्यु भएका चालकलाई लुटेराले सडक किनारमा छाडेका थिए । त्यसरी सडक किनारमा छाडिएका चालकको पनि भिडिओ सार्वजनिक भएको छ । उनी सडक छेउमा लडिरहँदा भिडिओ बनाउने धेरै भए पनि सहयोग गर्ने भने कोही भएनन् । त्यस ठाउँ हुँदै धेरै सवारीहरु तीव्र गतिमा कुदिरहे, तर ती चालकको अवस्था बुझ्न र मद्दत गर्न कसैले प्रयाससम्म गरेनन् ।
प्रहरीले सूचना पाएपछि घटनास्थलमा पुगेर ती चालकलाई अस्पताल लगेको थियो । अस्पताल लगेलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरे । गाडिमा बेरिएका बिजेन्द्रको टाउकोमा गम्भीर चोट लागेको थियो । बिजेन्द्रको हत्या गर्ने व्यक्तिहरुको खोजीलाई प्रहरीले तीव्र पारेको छ । प्रहरीले सडक किनारका सबै सिसिटीभीमा कैद भएका सबै दृष्यहरु हेर्ने काम गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij