वेबटिभी खबर
अर्घाखाँची । अर्घाखाँचीमा रहेका संघीय तथा प्रदेश मातहतका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यालयको आयोजनामा जिल्लामा रहेका संघीय, प्रदेश सरकार मातहतका कार्यालय तथा स्थानीय तहले गत आर्थिक वर्षमा गरेका सेवा प्रवाह तथा विकास निर्माणको समीक्षा गरिएको थियो ।
दुई दिनसम्म चलेको उक्त कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले उद्घाटन गरेकी थिइन् । सबै कार्यालय समीक्षा कार्यक्रममा उपस्थित भए पनि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र भैरहवास्थित संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख तथा प्रतिनिधि उपस्थित भएनन् ।
जिल्लामा २० वटा संघीय कार्यालय ११ वटा प्रदेश कार्यालय गरी जम्मा कुल ३७ कार्यालय छन । संघीय, प्रदेश र स्थानीय तहमा अर्घाखाँचीमा आव २०७९/८० मा कुल १३ खर्ब ७४ अर्ब ५५ करोड ५० हजार पाँच सय २७ बजेट विनियोजन भएकोमा कुल ८३ दशमलव २४ प्रतिशत खर्च भएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य बिजुला रायमाझी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललगायत जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij