वेबटिभी खबर
तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गरेकी छिन् ।
लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित उक्त पालिकामा दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको आज उनले शिलान्यास गरेकी हुन् ।
रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्नुहुँदै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताए ।
उनले संघको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिए ।
उनले भने, ‘देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ । त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।’
राप्ती गाउँपालिकाको प्रांगणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij