वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शितामा नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटवार्तामा विस्तारित कर्जा सुविधा (इसिएफ)लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो ।
अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुरा नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन पनि आग्रह गरेका छन् ।
उनले भने, ‘वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौँ तर सबै कुरा भनेजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन् । बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौँ ।’
छलफलपछि इसिएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आइएमएफ बोर्डबाट पारित गर्ने सहमति बनेको छ ।
आइएमएफ निर्देशक र अर्थमन्त्री डा महतबीचको छलफल सकारात्मक भएको मन्त्री महतको सचिवालयले जनाएको छ ।
थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्नेबारेमा पनि छलफल भएको थियो ।
छलफलमा अर्थसचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij