Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

लुलाङमा तीन महिनापछि बिजुली बल्यो

लुलाङमा तीन महिनापछि बिजुली बल्यो

  • 210
    SHARES
  • लुलाङमा तीन महिनापछि बिजुली बल्यो

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो ।

    विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए । परियोजनाको मर्मत गरेर तीन महिनापछि मंगलबारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुनले जानकारी दिए ।

    उनले भने, ‘दशैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ । परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।’

    दरखोला दोस्रो लघुुजलविद्युुुत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले पाँच लाख ५० हजार र जिल्ला समन्वय समितिले पाँच लाख ५० हजार विनियोजन गरेका थिए ।

    उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गौचनले पहिरोले पुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताए । 

    परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन् ।

    उनले भने, ‘नहरबाट आएको पानी संकलन हुने ट्यांकी भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको थियो । पेनस्टक पाइप, विद्युत्गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।’

    विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ ।

    केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । 

    उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ ।

    धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिराले लद्युुजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए ।

    उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि २० करोड बजेटको ठेक्का सम्झौता गरेको छ । लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ ।’

  • सम्बन्धित विषय:

  • # बिजुली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij