वेबटिभी खबर
धादिङ । धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका-४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१-०२८ च ९३३६ नंको कारमा समेत ठोकिन पुगेको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका-६ का २६ वर्षीय जितेन्द्र पाठक र उनका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिए ।
बसमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका-१४ का ३० वर्षीय सुनिता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका-११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएको छन् ।
त्यस्तै धादिङ सिद्धलेक गाउँपालिका-१ का ५५ वर्षीय खुसकुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ-११ का ४४ वर्षीय राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएको छन् ।
थाक्रे गाउँपालिका-२ का ४५ वर्षीय नवराज रिजाल र उहाँकी छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
सामान्य घाइतेहरुको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीन जनालाई काठमाडौंं पठाइएको छ ।
तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथो हो ।
यसअघि गजुरी गाउँपालिका- ६ बन्छेटारमा काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ४१७७ नंको माइक्रोबस र काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नंको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए ।
त्यस्तै बेनीघाट रोराङ-३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij