Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण

सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण

  • 154
    SHARES
  • सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण

    तनहुँ । भीमाद नगरपालिकास्थित सेती नदीले कटान गर्दा जोखिममा पारेको बस्ती संरक्षणका लागि ग्याबिन तटबन्धन निर्माण गरिएको छ ।

    नदी कटानका कारण भीमाद बजार क्षेत्रका ३५ घर उच्च जोखिममा परेका थिए । करिब दुई सय मिटर दूरीमा तटबन्धन निर्माण गरी बस्ती जोगाउने प्रयास गरिएको हो ।

    पटकपटक गरी उक्त स्थानमा रु दुई करोडभन्दा बढी लगानी भइसकेको नगरप्रमुख दधिराज सुवेदीले बताए । उनले भने, ‘दीर्घकालीन व्यवस्थापनका लागि लागत अनुमान तयार गरिएको छ । १७ करोडको लागतमा सेती नदी किनारमा ‘रिटेनिङ वाल’ निर्माणका लागि डिपिआर तयार भएको छ ।’

    करिब ५० देखि ६० मिटर उचाइमा रिटेनिङ वाल निर्माण गरी जोखिममा रहेका बस्तीलाई संरक्षण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए ।

    उक्त स्थानमा रिटेनिङ वाल निर्माण गरी माटोले पुरेर बिहान र बेलुका मानिस हिँड्ने पैदलस्थलका रुपमा निर्माण गर्ने योजना बनाइएको छ । 

    १६ करोडका पाँच योजना

    भीमाद नगरपालिकामा यस चालु आर्थिक वर्षमा १६ करोडका पाँच वटा योजनाको निर्माण अघि बढाइएको छ । सहरी विकास मन्त्रालयले विनियोजन गरेको  २५ करोड बजेटमा १५ करोड ९७ लाखमा ठेक्का सम्झौतापछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।

    ठेक्का सम्झौताअनुरुप जलौदीदेखि मालेबगर जोड्ने करिब दुई दशमलव दुई किमी कालोपत्रका लागि  पाँच करोड बजेट विनियोजन गरिएको छ ।

    भीमगोफा मोटरमार्गको दुई दशमलव सात किमी दूरीमा स्तरोन्नतिका लागि तीन करोड विनियोजन भएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए ।

    त्यसैगरी किहुँ मार्गमा एक दहमलव २० किमी ढलान गर्न दुई करोड ४४ लाख, शवदाहस्थल निर्माण र प्रवेशद्वार निर्माणार्थ  दुई करोड विनियोजन भएको छ ।

    भीमाद-६ सेतीनदी किनारमा निर्माण गरिने शवदाहस्थल डेढ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको नगरप्रमुख सुवेदीले बताए ।

    त्यसैगरी सिद्धगुफामा पर्यटन प्रवर्द्धनका लागि दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij