चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।
दसैँको अघिल्लो दिनसम्म व्यवसायीहरुलाई बैंकबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैँमा सहभागी भए ।
खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरु बताउँछन् ।
निजी क्षेत्रका मालिक मात्र होइन त्यहाँ कार्यरत मजदुर कर्मचारीहरुले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् । त्यसो त लुकी छिपी जुवातास खेल्नेहरुको खालमा प्रहरीले पैसासमेत भेट्न सकेन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन गरेको भए पनि पेसेवर जुवाडे नभेटिएको बताए ।
कार्कीले भने, ‘१५ जना समातिँदा ३० हजार पनि नपाएपछि मुद्दा चलाउने अवस्था रहेन ।’ उनको भनाइमा ठूलो रकम राखेर जुवातास खेल्नेहरु यो वर्ष भेटिएनन् । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजन गौतम विगतका दसैँमा जुवातासका ठूलाठूला खाल हुने गरेको सुनेको भए पनि यस वर्ष त्यस्तो नसुनिएको जनाए ।
गौतमले भने, ‘आर्थिक मन्दीका कारण दसैँ मनाउने अवस्था नरहेपछि जुवातास कस्ले खेल्ने ?’ हुनेखाने हुँ भन्नेले पनि यसपालि राम्रो र रमाइलो गरी दसैँ मनाउन नसकेको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ विगतको तुलनामा ३० प्रतिशत हाराहारी पनि व्यापार नभएको बताए । यसको प्रत्यक्ष प्रभाव दसैँ पर्वमा परेको उनको भनाइ छ ।
श्रेष्ठले भने, ‘क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।’ दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको उनले बताए । यससँगै मानिसहरुमा घुमफिर गर्ने क्रम समेतमा कमी आएको छ ।
पोल्ट्री व्यवसायी ऋषि पौडेलले आर्थिक मन्दी र युवा जनशक्ति पलायन भएका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताए ।
पौडेलले भने, ‘दसैँमा कुनै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो ।’ मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा बिक्न नसकेको उनले जनाए ।