वेबटिभी खबर
दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको भानु नगरपालिका-४ शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको प्रतिक्षामा रहेको छ ।
रामायण भवनको संरक्षण नहुँदा भवन जीर्ण बन्न थालेको छ । भवनका झ्याल तथा ढोकामा क्षति पुर्याइएको छ भने संरक्षण नहुँदा काठ धमिराले धुल्याउन थालेको छ ।
रामायण भवनको संरक्षणका लागि पटक-पटक आवाज उठाउँदा सुनुवाइ नभएको स्थानीय सन्देश आचार्यले गुनासो गरे ।
उनले भने, ‘यसबारे बारम्बार सवाल उठाइरहँदा पनि सम्बन्धित निकायहरू कहीँ कतैबाट संरक्षणमा चासो देखाएको पाइँदैन । भानुभक्त आचार्य यस क्षेत्रमा जन्मिदिएर सबैलाई चुलोचौको गर्न सजिलो भयो । उनकै नाउँमा राजनीति गर्न पाइयो । उनकै नाउँमा कमाई खान पाइयो । नेपाली भाषाको एकीकरण र विकासमा भानुभक्तको योगदान सबैका लागि मार्गदर्शक रहेको बताउँदै । भानुभक्तले लगाएको गुनको पैँचो हामीले कहिले तिर्ने हो ?’
जंगलको बीचमा रहेको रामायण भवन नजिक बेला-बेलामा आगलागी भइरहन्छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिँदै आएका छन् । स्थानीयवासी महेश आचार्यले डढेलो लाग्दा दिनरात नभनी आगो नियन्त्रणमा आफूहरु खटिरहेको बताए ।
उनले भने, ‘हाम्रो तर्फबाट संरक्षण गरिरहेका छौँ तर सम्बन्धित र सरोकार संघसंस्थाको भने चासो नभइदिँदा समस्या भइरहेको छ ।’
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जंगलको बीचमा भएकाले केही समस्या भए पनि आफूहरु यसको संरक्षणमा जुटिरहेको दाबी गरे ।
उनले भने, ‘संरक्षण नै नभएको भन्ने होइन । जन्मस्थल समिति लागि रहेको छ । सिसी क्यामरा जडान र तारबारको पनि व्यवस्था गर्दैछौँ ।’
रानाभाटका अनुसार यही ठाउँमा मंसिरदेखि भानुगृहको निर्माण सुरु हुँदैछ । पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको काम सुरु गर्न लागेको हो । उनले भने, ‘त्यसपछि यो ठाउँ अझ व्यवस्थित हुन्छ । पानी र बत्तीको व्यवस्था भइसकेको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा एकीकृत पर्यटन पूर्वाधार विकासअन्तर्गत रामायण भवन निर्माण गरिएको छ ।
आचार्यको जन्मस्थल शिखर कटेरी चुँदी रम्घाको जन्मघर खण्डहर बन्दै गएपछि भानु जन्मस्थल विकास समितिले भानु शिखर कटेरी गुरुयोजना बनाएर भानुको जन्मस्थलको संरक्षणको काममा चासो देखाएको थियो ।
रानाभाटका अनुसार तीन करोड लागतमा भवन निर्माण गरिएको हो । समितिले दश रोपनी क्षेत्रफलभित्र भानु गृह, सङ्ग्रहालय, अतिथि गृहलगायत निर्माण गर्ने लक्ष्य राखे पनि काम हुन सकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij