Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

  • 197
    SHARES
  • म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

    म्याग्दी । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् ।

    म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए ।

    ‘देशका विभिन्न ठाउँमा भ्रमणमा आएका पाहुनाले होटल भरिएका हुन ।’ गलेश्वरमा रहेको होटल याकका सञ्चालकसमेत रहेका आचार्यले भने, ‘पोहोरपरार सालभन्दा यसपालि पर्यटक आगमन राम्रो छ ।’

    बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिंगा तातोपानीका होटल पाहुनाले भरिभराउ बनेका हुन् । होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ ।

    दशभन्दा बढी सुविधायुक्त होटल रहेको भुरुङ तातोपानीका होटल व्यवसायी राजु हमालले तीन दिनयता सबै होटल पाहुनाले भरिभराउ रहेको बताए ।

    बडादसैँको टीकाको भोलिपल्टदेखि काठमाडौं, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

    मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले तीन दिनयता दैनिक चारदेखि पाँच हजार पाँच सय पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिए ।

    उनले भने, ‘कात्तिक ९ गते एक हजार दुई सय सवारीसाधनमा पाँच हजार पाँच सय, १० गते नौ सय ७४ सवारीसाधनमा पाँच हजार र शनिबार सात सय सवारीसाधनमा चार हजार जना मुस्ताङ भित्रिएका छन् । अन्य समयमा दैनिक डेढ सयदेखि दुई सय सवारीसाधनमा पर्यटक भित्रने गरेका थिए ।’

    महतका अनुसार जीप, बसको तुलनामा मोटरसाइकल, निजी गाडी र स्कुटरमा मुस्ताङ घुम्न जाने बढी छन् ।

    पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्नेहरू मुस्ताङ घुम्न आएका घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका मार्फाका होटल व्यवसायी राजु लालचनले बताए ।

    ‘पोहोर साल दसैँमा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि दुःख पाए । यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजेका छन् ।’

    शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । विदेशीभन्दा नेपाली पर्यटकको संख्या बढी रहेको होटल व्यवसायीले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij