वेबटिभी खबर
काठमाडौं । ई-सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका-५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढिमाइ नगरपालिका-६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका-५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका-५ बस्ने २१ वर्षीय रितेश कुसवाहा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार पक्राउ परेकाहरुले पीडितहरुलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई-सेवाको आधिकारीक कर्मचारी हुँ भन्दै ई-सेवाको आइडी, बैङक खातासँग लिङकअप गराई खाता नविकरण, केवाइसी फारम अपडेट, सिष्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ ।
उनीहरुले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरुमा ट्रान्सफरलगायत भुक्तानीसमेत गरी १८ जनाबाट १५ लाखभन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ प्रवक्ता रेग्मीले बताए ।
यस ठगीमा संलग्न उनीहरुलाई रौतहट जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज काठमाडौँ जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij