Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडाैं महानगरले दुई महिना उठायो एक अर्ब राजस्व

काठमाडाैं महानगरले दुई महिना उठायो एक अर्ब राजस्व

  • 176
    SHARES
  • काठमाडाैं महानगरले दुई महिना उठायो एक अर्ब राजस्व

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बितेका दुई महिनामा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।

    गत आवको सोही अवधिमा कामपाले ९३ करोड ४१ लाख मात्र राजस्व संकलन गरेको थियो । राजस्व संकलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौं महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ ।

    कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता संख्या बढेको बताइएको छ ।

    त्यस्तै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरुको लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व संकलनमा सहज भएको छ ।

    यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म  सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको  राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए ।

    प्रत्येक वडा कार्यलयबाट राजस्व संकलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व संकलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिए ।

    हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको संख्या उल्लेख्य बढेको कामपाको भनाइ छ । हाल कामपाले करिब चार लाख करदाता रहेका छन् ।  हाल कामपाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य नौ शीर्षकमा कर संकलन गर्दै आएको छ ।

    चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ ।

    चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड राजस्व असुल भएको छ । गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् ।

    बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै एक हजार तीन सय करदाता थपिएका छन् । कामपाले बक्यौता रकम असुल गर्न छुट दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij