Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

यौन शोषणका लागि गरिने व्ल्याकमेलिङबाट महिलालाई बचाउन एक पुरुषले चलाएको 'फेसबुक ग्रुप'

यौन शोषणका लागि गरिने व्ल्याकमेलिङबाट महिलालाई बचाउन एक पुरुषले चलाएको 'फेसबुक ग्रुप'

  • 225
    SHARES
  • यौन शोषणका लागि गरिने व्ल्याकमेलिङबाट महिलालाई बचाउन एक पुरुषले चलाएको 'फेसबुक ग्रुप'

    काठमाडौं । गत वर्षको गर्मी याममा आफ्ना पूर्वप्रेमीले यौन शोषणको धम्की दिएको भन्दै १७ वर्षकी किशोरी सामाजिक कार्यकर्ता मोहम्मद एलिआमनीसँग सहयोग माग्न पुगेकी थिइन् तर पछि उनले आत्महत्या गरिन् । इजिप्टका ३५ वर्षीय सामाजिक कार्यकर्ता एलिआमनीले ती किशोरीलाई प्रहरीमा उजुरी गर्न सल्लाह दिएका थिए । ती किशोरीले आफूलाई म्यासेज गर्नुभन्दा अघिल्लो दिन पूर्व प्रेमीले किशोरीका बुबालाई अन्तरङग तस्बिर पठाएको एलिआमनीले थाहा पाए । 

    त्यही तस्बिरहरुका कारण ती किशोरीले आत्महत्या गरेकी थिइन् । एलिआमनीले त्यसपछि उक्त युवकविरुद्ध कानुनी कारबाही गर्न किशोरीको परिवारसँग सम्पर्क गर्दा परिवारले चासो देखाएनन् । उनीहरुले घटनालाई थप जटिल बनाउने इच्छा नरहेको प्रतिक्रिया दिए ।  

    यो घटनापछि एलिआमनीले कुनै पनि पीडितलाई यस्तो दुर्भाग्यपूर्ण अवस्थाबाट बचाउन हरसम्भव प्रयास गर्ने संकल्प गरे । जुन २०२० मा उनले फेसबुकमा कावेम नामबाट एउटा पेज र गु्रप बनाए । हालसम्म यो पेजमा २ लाख ५० हजारभन्दा बढी फलोअर्स छन् । 

    एलिआमनी महिलाविरुद्ध हुने यौन उत्पीडन र शोषणको बारेमा जागरुकता बढाउनका लागि फेसबुकको उपयोग गर्छन् र यसविरुद्ध अभियान चलाउँछन् । यो डिजिटल युगमा महिलाका निजी एवं संवेदनशील सामाग्री सार्वजनिक गर्न धम्की दिने, ब्ल्याकमेलिङ गर्ने, साइबर बुलिङ गर्ने व्यक्तिविरुद्ध लक्षित गरी उनले अभियान चलाइरहेका छन् ।  
    कावेम नेटवर्कमा २०० स्वयंसेवक छन् । नेटवर्कका महिला स्वयंसेवक फेसबुक समूह चलाउँछन् र पीडितहरुको जिज्ञासाहरुको जवाफ दिने गर्छन् र समस्याको सम्बोधन गर्छन् । बाँकी स्वयंसेवकहरुले पीडकबारे जानकारी संकलन गर्छन् र आवश्यक सहयोग गर्छन् । 

    जब स्वयंसवेकहरुले कुनै घटनाको बारेमा रिपोर्ट प्राप्त गर्छन्, उनीहरुले पीडितविरुद्ध रहेका सबै सामाग्री हटाउन र त्यसले निम्त्याउने कानुनी परिणामबारे पीडकलाई जानकारी गराउँछन् । त्यस्ता सामाग्री हटाउँदा भिडियो बनाएर पीडितसँग माफी माग्दै कावेमलाई पठाउन पनि भन्छन् ।  

    एलिआमनी भन्छन्, ‘केही अभियुक्तहरु पीडित एक्लै छैनन भन्ने थाहा पाएपछि बल्ल माफी माग्न र भिडियो, तस्बिर हटाउन तयार हुन्छन् तर धेरैजसोले धम्की नदिई यसो गर्न मान्दैनन् ।’ उनीहरुले अवस्था हेरेर अर्काे उपाय पनि अपनाउँछन् । कहिलेकाँही स्वयंसेवकलाई अभियुक्तसँग एक्लै भेट्न पठाइन्छ । ती स्वयंसेवक अभियुक्तको छरछिमेक वा नजिकका व्यक्ति हुन्छन् । जसका कारण उनीहरुलाई दबाव बन्छ । निकै थोरै मुद्दामा मात्र उनको समूहले प्रहरीको सहयोग लिनुपरेको एलिआमनी बताउँछन् । कावेम समूहका अनुसार यस समयमा दैनिक करिब पाँच सय यस्ता दुव्र्यवहारका घटनाहरु आउँछन् । जसमध्ये उनीहरुले हरेक साता दुई सय घटना सुल्झाउँछन् ।

    अर्काे घटनामा २९ वर्षीया रानदासँग सम्बन्ध बिग्रिएपछि उनका पुरुष साथीले रानदाको नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिएका थिए । गत वर्षको अगस्टमा इजिप्टले यौन शोषणको मुद्दामा पीडित महिलालाई गोपनियताको अधिकार हुने गरी कानुन बनाएको थियो तर पनि रानदा प्रहरीमा जान डराइन् । 

    त्यहाँ महिलाहरु परिवारको डरका कारण प्रहरीमा उजुरी गर्न जान डराउँछन् । रानदाको पनि स्थिति त्यस्तै थियो । यौन शोषणसम्बन्धी मुद्दा हेर्ने वकिल यासिर साद भन्छन्, ‘इजिप्टको कानुन यौन उत्पिडनको शिकार भएका महिलालाई संरक्षण प्रदान गरेर अभियुक्तलाई सजाय दिने खालको छ । तर कानुनअनुसार उजुरी गर्ने प्रक्रिया जटिल छ ।’ 

    मुद्दा दर्ता गर्ने र अनुसन्धान सुरु हुनेबीचको समयमा अभियुक्तले पीडितलाई धम्काउन सुरु गर्छ । त्यहीँ प्रहरी चौकीमा पुरुषवादी संस्कृति प्रायः अपराधका लागि पीडितलाई नै दोषी ठहर्याउन लागि पर्छ । ३० वर्षीय नुरहानको मुद्दामा यस्तै भयो । उनका पूर्वप्रेमीलाई दुव्र्यवहारको मुद्दामा प्रहरीले सोधपुछ गर्न ४० दिन लगायो । अनुसन्धानका लागि प्रहरीले लिने लामो समयका बीचमा महिलाहरुलाई आफ्नो हत्यासम्म हुन सक्ने डर हुन्छ । यसकारण उनीहरु कानुनी निकायमा जान मान्दैनन् । 

    दक्षिण इजिप्ट परम्परागत संस्कृति र पितृसत्तात्मक समाजका कारण छोरीका कारण इज्जत जाने डरले हत्या गर्ने (अनर किलिङ) बढी मात्रामा हुने गर्छ । यसमा महिलाको हत्या कथित रुपमा अनैतिक आचरणका कारण गरिएको मानिन्छ ।  

    एलिआमनी कावेमको सबैभन्दा ठूलो चुनौती पीडितले ब्ल्याकमेलरको बारेमा जानकारी नपाउनु रहेको बताउँछन् । कहिलेकाँही महिलाहरु आफ्ना फोन बेच्दा सबै भिडियो, फोटो हटाएर त बेच्छन् । तर ती फोटो रिस्टोर गरेर पुनः उनीहरुलाई ब्ल्याकमेल गर्ने खालका घटना पनि त्यहाँ भइरहेका छन् । यस्तो अवस्थामा महिलाहरुले आफूलाई कसले धम्की दिइरहेको छ भनेर थाहा पाउँदैनन् । यस्ता मुद्दामा एलिआमनीले महिलाहरुलाई प्रहरीको सहयोग लिन सल्लाह दिन्छन् । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology