वेबटिभी खबर
सिरहा । सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिनसहित नौ बुँदे माग राखेर जिल्लाका शिक्षक संघ संगठनले गरेको आन्दोलनको कारण आज यहाँका विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए ।
प्रधानाध्यापक साहको शंकास्पद मृत्यु भएको भन्दै जिल्लाका विभिन्न आठ पेसागत शिक्षक संगठनले घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाउन दबाबस्वरुप आज जिल्लाभर पठनपाठन ठप्प पारेका छन् ।
त्यस्तै शिक्षकले गोलबजार नगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । मृतकको परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा चक्काजामसमेत गरेका छन् ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij