वेबटिभी खबर
कैलाली । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् ।
राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका-५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ ।
उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताए ।
उनले भने, ‘मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेका छौँ । मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना छ ।’
राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।
उनले भने, ‘किसानलाई उखु खेतीका लागि आग्रह गरेका छौँ । उखु उत्पादनसँगै मिल सञ्चालनको पनि काम भइरहेको छ ।’
कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न रु दुई अर्बभन्दा बढी लागत लाग्ने अनुमान कम्पनीको छ ।
मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि ६ हजार बिघामा उखुखेती आवश्यक पर्ने निर्देशक ओली बताउँछन् । मिल सञ्चालनमा आए पाँच सयभन्दा बढी जनाले प्रत्यक्षरूपमा रोजगारी पाउनेछन् ।
बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् ।
राजापुर-८ का धर्मचन्द्र चौधरीले भने, ‘बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षात्को समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ ।’
अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन भए बर्दियाका किसानले मात्रै नभई कैलालीकाले लाभ लिनसक्ने बताए ।
टीकापुर नगरपालिका-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती गर्न थालिएको बताए । उनी आफैले पनि उखुखेती सुरु गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij