वेबटिभी खबर
चितवन । चितवनको कालिका नगरपालिका–१ का किसानले केरा खेती मासेर फूल खेती गर्न थालेका छन ।
वडा नं-१ लङ्कालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केरा खेती गरिँदै आएको जग्गामा संयुक्तरुपमा फूल खेती थालेका हुन ।
तीन बिघा क्षेत्रफलमा लगाइएको केरा खेती मासेर व्यावसायिक सयपत्री फूल खेती थालिएको पौडेलले बताए । विगतका वर्षमा करोडौँको फूल विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यहाँ फूल खेती गरिएको उनको भनाइ थियो ।
कालिका-५ का स्थानीय बासिन्दा पौडेल एक प्राङ्गारिक कृषिको अभियन्तासमेत हुन । उनले योसँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारिक खेती गर्दै आएका छन ।
‘विगतमा केरा खेती गरिँदै आएको जग्गा भाडामा लिएर यस वर्ष सयपत्री फूलको खेती गरेका हौँ’, पौडेलले भने, ‘स्थानीयस्तरमा विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सक्छौँ ।’
उन्नति कृषि फार्ममार्फत एकै ठाउँमा तीन बिघा क्षेत्रफल जग्गामा फूल खेती गर्दै आएको बताउँदै पौडेलले यस स्थानमा ६० हजार सयपत्री फूलका बिरुवा रोपेको जानकारी दिए ।
पौडेलले भने, ‘राम्रो बजारीकरण हुनसकेमा एउटा बिरुवाबाट हामीले ३० देखि ४० सम्म लिन सक्छौँ ।’ दुई जना मिलेर फूल खेती सुरु गरेको भन्दै उनले यसका लागि करिब पाँच लाख ५० हजार लगानी भएको बताए ।
पौडेलले यसबाट १५ लाखको आम्दानी हुने आशा व्यक्त गरे । पौडेलले भने, ‘पहिला केरा खेती गर्दा रासायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको थियो । यसलाई विस्तारै सुधार्दै लगेर प्राङ्गारीकतर्फ लैजाने योजना छ ।’
यहाँ सूर्यमुखी फूलको खेती पनि गर्ने तयारी भइरहेको उनले जानकारी गराए । रत्ननगर नगरपालिका-१५ घर भएका कृषक वाइबाले पौडेलसँग मिलेर पहिलोपटक साझेदारीमा फूल खेती गरेको बताए ।
विगतको वर्षमा भन्दा यस वर्ष चितवनमा फूल खेती अलि बढीमात्रामा गरिएको भन्दै उनले यहाँ उत्पादन भएका फूल स्थानीय बजारमाभन्दा पनि काठमाडौं, पोखरा, बुटवललगायत सहरमा निर्यात गर्ने गरिएको जानकारी दिए ।
वाइबाले स्थानीय पालिकाले केही मात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेको बताए । ‘हाल दैनिक सातरआठ क्विन्टल फूलको बिक्री हुँदै आएको छ ।’
हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइबाले अब दुई/तीन दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij