Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भूकम्पपीडित नौ सय परिवारलाई राहत सामग्री

भूकम्पपीडित नौ सय परिवारलाई राहत सामग्री

  • 192
    SHARES
  • भूकम्पपीडित नौ सय परिवारलाई राहत सामग्री

    चितवन । भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपूर्व पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ ।

    स्थलगतरूपमा मृतकका परिवारलाई समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय पालिकामार्फत राहत वितरण गरिएको हो ।

    महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।

    यसैगरी जाजरकोटको नलगढा नगरपालिकाका प्रमुख डम्बरबहादुर रावललाई खाद्यान्न र लत्ताकपडा रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टलाई खाद्यान्न र लत्ताकपडा र जाजरकोटको भेरी नगरपालिकाका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारमार्फत दुई सय बोरा राहत सामग्री हस्तान्तरण गरिएको हो ।

    ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको छ । एक परिवारलाई २५ किलो चामल, पाँच किलो दाल र एउटा ठूलो ब्ल्याङ्केट वितरण गरिएको हो ।

    अधिकारीका अनुसार महानगरपालिकाले ४० लाख हाराहारीको राहत सामग्री वितरण गरेको छ । सो क्रममा महानगर प्रमुख दाहालले दुःख साट्न भरतपुर महानगरको टोली स्थलगतरूपमा आएको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा महानगरका तर्फबाट एक करोड दिइने बताए ।

    स्थलगतरूपमा प्रभावित क्षेत्रमा पुगेका दाहालले मृतकका परिवारलाई भेट गरेका थिए । यसैगरी घाइतेलाई समेत उनको समूहले भेट गरेको थियो ।

    उपप्रमुख चित्रसेन अधिकारीले विपद्मा सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै पालिकामार्फत प्रभावितसम्म पुग्ने प्रयास भरतपुर महानगरले गरेको बताए ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले यो सहयोगले केही हदसम्म प्रभावितलाई राहत मिल्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij