वेबटिभी खबर
रसुवा । रसुवागढी नाकाबाट मंगलबार सुन तस्करी आरोपमा तीन जना पक्राउ परेसँगै यहाँबाट पछिल्ला समय सुन तस्करी बढीरहेको देखिएको छ । गत साता पनि यही नाकाबाट भित्रिएको तस्करीको सुनसहित तीन जना पक्राउ परेका थिए ।
केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।
उनीहरूको साथबाट १३ लाख ८८ हजार चार सय रुपैयाँ बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले बताए ।
गत आइतबार पनि १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको सुनका औँठीसहित तीन जनालाई पक्राउ गरी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij