Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

  • 164
    SHARES
  • सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन ।

    स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेकपा (माओवादी केन्द्र) को बेवसाइट सार्वजनिक गर्दै प्रधामन्त्री दाहालले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने बताएका हुन ।

    उनले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए । ‘सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ’, प्रधानमन्त्री दाहालले भने ।

    सो ऐनको संशोधनपछि विकास निर्माण र लालपूर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले सूचना प्रविधिको सही प्रयोग गरेर मात्रै पार्टीलाई जनताका माझ थप लोकप्रिय बनाउन सकिने बताए ।

    उनले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गरे ।

    सरकारका तर्फबाट देश र जनताको पक्षमा राम्रो गर्ने इमान्दार प्रयास भएको जानकारी दिँदै प्रधानमन्त्रीले मिटरब्याजीको समस्या समाधान गर्न गरिएको प्रयासका अलावा, सामाजिक न्याय, सामाजिक सुरक्षा, भूमाफियालाई कारबाही, नक्कली भूटानी शरणार्थी प्रकरण, तस्करी नियन्त्रणमा गरिएको प्रयास उल्लेखनीय रहेको बताए ।

    नेपालको राष्ट्रिय पहिचानलाई सुदृढ गर्न सरकार गम्भीर रुपमा लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, इटालीलगायतको भ्रमण सहयोगी बनेको स्पष्ट पारे । फरक प्रसंगमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपाल डरलाग्दो स्थितिमा पुगेकाले अन्तर्राट्रिय समुदायको ध्यानाकर्षण गराइएको र संयुक्त राष्ट्रसंघले नेपालको भ्रमण गरेकाे उल्लेख गरे ।

    विकसित राष्ट्रले नेपाललगायत देशलाई उपलब्ध गराउने भनेर यसअघि जनाएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएकाले यस पटकको कोट- २८ मा त्यसबारेमा गम्भीर ध्यानाकर्षण गराइने प्रधानमन्त्रीको भनाइ छ ।

    प्रधानमन्त्रीले सरकारले बुढीगण्डकी, कर्णाली चिसापानीलगायत ठूला आयोजनाको काम अगाडि बढाएको सो अवसरमा जानकारी दिए ।

    बुढीगण्डकी आयोजनाका लागि मात्रै पूर्वाधार करमार्फत उठ्ने रकम जम्मा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ । कर्णाली चिसापानी आयोजनाको अध्ययन अगाडि बढाउने निर्णय भएको उनले बताए ।

    तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको प्रधानमन्त्रीको कथन छ । सरकारले जटिलताकाबीचमा पनि विकास निर्माणको कामलाई गति दिने प्रयास गरिएको उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij