वेबटिभी खबर
काठमाडौं । काठमाडौंबाट यात्रु लिएर गएको बुद्ध एयरको विमानले झापाको भद्रपुर विमानास्थलमा सोमबार साँझ ७ बजे अवतरण गर्ने बेला अचानक ओभरसुट गर्यो । धावनमार्गमा स्याल देखिएपछि अवतरणको अन्तिम चरणम विमानले ओभरसुट गरेको हो ।
विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले काठमाडौंबाट आएको जहाज अवतरण गर्ने फाइनल प्वाइन्टमा आइसकेपछि धावनमार्गमा स्याल देखिएपछि ओभरसुट गरेको बताए । ‘हामीले सामान्यतया धावनमार्गमा स्याल, कुकर वा कुनै शङ्कास्पद वस्तु देखिएमा पहिला धावनमार्ग क्लियर गरेर मात्रै जहाज अवतरण गर्ने अनुमति दिन्छौँ,’ खत्रीले भने, ‘सोही प्रक्रिया गर्दा करिब १० मिनेटको समय लाग्ने भएकाले जहाजलाई ‘मिस अप्रोच’ गराएर सुरक्षित अवतरण गरिएको हो ।’
रातिको समयमा इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भएकाले धावनमार्ग क्लियर गर्न लगाएर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो ।
धावनमार्गमा स्याल देखिएपछि विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले मिस अप्रोच लागि पाइलटलाई अनुरोध गरेका थिए । मानिस र सवारीसाधनको सहायताले धावनमार्ग उडानयोग्य बनाइएको थियो । ‘रात्रिकालीन उडान भएकाले केही असहज भएको हो,’ खत्रीले भने, ‘हामी सचेत छौँ, जहाज उडान तथा अवतरण गर्नुअघि विमानस्थलका कर्मचारीले धावनमार्गको चेकजाँच गरिँदै आएको छ । सुरक्षित उडानका लागि सबै जिम्मेवारपूर्वक लागेका छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij