एजेन्सी
नयाँ दिल्ली । भारतको बेंगलुरुमा शुक्रबार बिहान १५ वटा विद्यालयमा बमले उडाइदिने धम्की आयो । इमेलमार्फत यो धम्की दिइएको प्रहरी अधिकारीहरुले बताएका छन् । इमेलमा विद्यालय परिसरभित्रै विस्फोटक पदार्थ राखिएको दाबी गरिएको छ ।
धम्कीपूर्ण इमेलबारे तुरुन्तै प्रहरीलाई जानकारी गराएपछि सबै विद्यालयमा प्रहरीले शंकास्पद बस्तुको खोजी जारी राखेको छ । भारतीय संचारमाध्यमका अनुसार बम डिस्पोजल टोली पनि ती विद्यालयहरुमा पुगेका छन् । यो धम्कीपूर्ण पत्र प्राप्त भएका विद्यालय ह्वाइटफिल्ड, कोरमंगला, बसवेशनगर, येलाहंका र सदाशिवनगरमा रहेका छन् ।
बम विष्फोटको धम्कीलाई ध्यानमा राख्दै विद्यालय व्यवस्थापनले विद्यार्थीका अभिभावकलाई अज्ञात स्रोतबाट विद्यालयमा सुरक्षा खतरा उत्पन्न भएकाले तत्काल विद्यार्थीहरूलाई विद्यालय परिसरबाट क्याम्पसबाट बाहिर निकाल्ने निर्णय गरिएको जानकारी दिएको छ ।
यता प्रहरी अधिकारीहरुले गत वर्ष पनि यस्तै धम्की आएको बताएका छन् । यसमा बेंगलुरुमा ७ वटा विद्यालयमा बम राखिएको धम्की आएको थियो, जुन पूर्णतया अफवाह साबित भयो।
विद्यालयमा बम राखेको धम्कीपछि कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले बेंगलुरुको एक विद्यालय पुगेर निरीक्षण गरेका छन् । उनले त्यहाँ अनुसन्धानका लागि पुगेका सुरक्षा अधिकारीहरुसँग जानकारी लिएका छन् । सुरक्षाकर्मीले संदिग्ध सबै ठाउँमा खोजी जारी राखेको छ । इमेलमार्फत आएको धम्की झुठो हुनसक्ने पनि आकलन गरिएको छ । तर सुरक्षाकर्मीले त्यसबारे केही बताएका छैनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij