Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

आर्थिक मन्दी कम गर्न लाग्ने कि एनसेलको शेयर बिक्री विवादमा अल्झिने ?

आर्थिक मन्दी कम गर्न लाग्ने कि एनसेलको शेयर बिक्री विवादमा अल्झिने ?

  • 205
    SHARES
  • आर्थिक मन्दी कम गर्न लाग्ने कि एनसेलको शेयर बिक्री विवादमा अल्झिने ?

    काठमाडौं । नेपाल अहिले आर्थिक मन्दीको ठूलो मारमा छ । आर्थिक मन्दीको असर साना किराना पसलदेखि लिएर ठूला सपिङमल, रेष्टुरेन्ट र होटलसम्म देखा परेको छ । विकास बजेटहरू नभएर निर्माण कार्य सुस्त भएको छ । दिनप्रतिदिन राजधानीको भिडभाड हुने बजारका सटरहरू बन्द हुने क्रम बढ्दै गएको छ । उद्योगधन्दा, कलकारखानाको अवस्था पनि नाजुक छ ।

    images

    आर्थिक मन्दीले हरेकजसो नेपाली प्रभावित भएका छन् । तर यति ठूलो मुद्दामा संसद्, संसदीय समिति, सरकार, नागरिक समाज र मिडियाले पनि खासै आवाज बुलन्द पारेका छैनन् । धेरैलाई आर्थिक मन्दी हुनुको मुख्य कारण नै थाहा छैन । आर्थिक मन्दी हुनुमा अर्थ मन्त्रालय, सरकार वा राष्ट्र बैंक कसको कमजोरी हो ? कुन निकायले के गर्दा मन्दीको प्रभाव कम हुन्थ्यो ? यी विषयहरू बाहिर आएका छैनन् । 

    कोभिड महामारीका बेलादेखि सुरु भएको आर्थिक संकट कम हुनुकाे सट्टा बढ्दै गएकाे छ । कोरोनाको विश्वव्यापी महामारीले विकसित देशमा पनि आर्थिक संकट बढेको थियो । छिमेकी मुलुक भारत र चीनले जटिल अवस्थालाई पार गर्दै आर्थिक प्रगति सुरु गरिसकेका छन् । तर नेपालमा भने अहिले पनि कोरोनाकै प्रभावले आर्थिक संकट बढेको भन्ने भ्रम छँदैछ । अरु मुलुकले प्रगति गर्दा नेपालमा मात्र कोरोनाकै प्रभाव अहिलेसम्म किन त ? यो प्रश्नको यकिन जवाफ चाहिँदैन ? याे खाेज्नु सट्टा जनजीविकासँग सराेकारै नराख्ने कुरामा विषयान्तर हुनु राम्राे हाेइन । 

    एउटा प्राइभेट कम्पनी एनसेलको ठूलो हिस्सेदारले सेयर बिक्री गर्न लागेको कुराले भने अहिले मुलुक हल्लिएको छ । सरकार, संसदीय समिति, नागरिक समाज, मिडिया सबैको मुख्य विषय यही बनेको छ । एउटा विदेशी कम्पनीले अर्को विदेशी कम्पनीलाई बेच्न थालेको सेयरको मूल्यलाई लिएर मुलुकमा लगभग ‘हंगामा’कै अवस्था छ । छानविन समितिसमेत गठन भइसकेकाे छ ।

    एनसेलको शेयर जतिमा बेचे पनि त्यसले राष्ट्रको आर्थिक मन्दीलाई चलायमान बनाउन सक्दैन । न यो कम मूल्यमा बेच्दा आर्थिक मन्दी लामो हुने हो । कर छल्न सक्ने सम्भावनाको हकमा बेचेको मूल्यले मात्र कर निर्धारण गर्दैन । पूर्वअर्थसचिव रामेश्वर खनालले एउटा टिभी अन्तर्वार्तामा कर छली भयो कि भनेर अत्तालिनु बेकार भएको बताएका छन् । एनसेल शेयर बिक्री प्रकरण कर छलीको चरणमा अहिले नपुगेको र जतिमा बेचे पनि आयकर ऐनले बेचेको मूल्यलाई कायम नगर्ने उनले स्पष्ट पारेका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘एक रुपैयाँमा बेचे पनि हाम्रो आयकर ऐनले उसले बेचेको मूल्यलाई कायम गर्दैन । शेयरको यथार्थ मूल्य कति हो भनेर कायम हुन्छ र त्यो निकाल्ने आधारहरू छन् ।’

    यो विवाद चुलिएपछि एनसेलले पनि विज्ञप्ति जारी गर्दै भनेको छ, एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरूको सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।’

    आजियाटा रेनोल्ड्स होल्डिङ्सले एनसेलको आफ्नो शेयर ६ अर्बमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने भएपछि सबैको ध्यान यसले तानेको छ । तर सन् २०२९ सम्म अजियाटाले यसको नाफाको हिस्सा पाउँदै जाने उल्लेख भएकाले समग्र मूल्यमा त्योसमेत जोड्नुपर्छ र त्यसो गर्दा ६ अर्ब मात्र मूल्य नहुने अर्थविद्हरूले बताएका छन् । 

    नेपाली मूलका व्यवसायी रहेको कम्पनीले आजियाटाले बेच्न लागेको ८० प्रतिशत शेयर किन्न लागेपछि त्यसको अनेक पाटोमा विवाद बढेको हो । एनसेल स्थापनाको २५ वर्षपछि सरकारको स्वामित्वमा जाने भनिएकाले त्यसलाई छल्न किनबेच हुन थालेको पनि आरोप लागेको छ । तर खनालले अन्तर्वार्तामा किन्ने कम्पनी पनि विदेशी भएकाले नेपालको स्वामित्वमा आउँदैन भन्ने अवस्था नभएको बताएका छन् । यसमा कम्पनीका मालिक कुन देशको नागरिक हो भन्ने कुराले अर्थ नराख्ने उनले स्पष्ट पारेका छन् ।

    टेलिकम व्यवसायमा प्रवेश नपाएका केही धनाढ्यले यो विवादलाई बढावा दिएर खेल्न खोजेको हुनसक्ने आशंकासमेत गरिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology