वेबटिभी खबर
काठमाडौं । आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।
कोरोना नियन्त्रणका लागि सरकारले आन्तरिक उडान बन्द गरेको थियो । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ ।
कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले उडान भर्ने छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ ।
विमानस्थलले कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा पालना गराउनेछ । यसका लागि सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो । फाइल फाेटाे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij