मुकेश झा
सर्लाही । सर्लाहीको हरिपुर्वामा बिहीबार हतियारधारी समूहले ५ लाख नगद लुटेका छन् । बैंकबाट पैसा झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको वसन्तपुर शाखा कार्यालय जाँदै गर्दा सहकारीका दुई कर्मचारी लुटिएका हुन ।
लुटपाटका क्रममा एक राउण्ड गोली समेत चलेको स्थानीयले बताएका छन् । मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर नगद भएको ब्याग लुटेका थिए । दिउँसै गाेली चलाएर नगद लुटिएपछि स्थानीय त्रसित भएका छन् ।
हरिपुर्वास्थित एनआइसी बैंकबाट ६ लाख नगद निकालेर हरिपुर्वामै रहेको मुख्य शाखामा एक लाख बुझाइ बाँकी पैसा लैजाँदै गर्दा लुटपाट भएको हो । वसन्तपुर शाखाका प्रमुख रामनाथ राय र सोही शाखामा कार्यरत उनकी छोरी नीरा राय मोटरसाइकलमा जाँदै गर्दा हनुमानचोकस्थित महाजन पोखरी भन्ने ठाउँमा लुटपाट भएको हो ।
सहकारीका अध्यक्ष गणेश यादवले मुखमा मास्क लगाएर आएका २५ वर्ष जतिका दुई युवकले पैसा भएको ब्याग लुटेको बताए । ‘ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा हाम्रो कर्मचारी लुुटिए,’ यादवले भने, ‘५ लाख ५ हजार नगद र एउटा मोबाइल लुटिएको छ ।’
लुटेराले ब्याग खोस्ने क्रममा नदिएपछि रामनाथलाई ताकेर गोली प्रहार गरेको यादवले बताए । यादवका अनुसार रामनाथलाई गोली नलागेको र गोलीको खोका प्रहरीले बरामद गरेको छ । ‘हामीले प्रहरीलाई खबर गरिसकेका छौं,’ यादवले भने, ‘लुटेराको खोजी भइरहेको छ ।’
लुटेराले प्रयोग गरेको मोटरसाइकल अपाचे कम्पनीको रहेको र नम्बर प्लेटमा माटो दलेको प्रत्यक्षदशीले बताएका छन् ।
लुटपाट भएको स्थान प्रहरी चौकीबाट ४ सय मिटरमात्र टाढा पर्छ । पैसा लुटेपछि लुटेराहरु हर्दी खोलातर्फ भागेका थिए । गोली प्रहार गरेर पैसा लुट्ने समूह पेसेवर हुनसक्ने यादवले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij