वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब एकपटक रेफर भई आएका बीमित बिरामीलाई सोही रोगका लागि पुनः रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो ।
‘यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एकपटक रेफर गरेपछि रोग निर्क्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पूर्जी लिनु नपर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने । यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफर पूर्जी लिनु पर्ने व्यवस्था थियो ।
यस्तै बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने भएको उनले बताए । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक–एक महिनाका लागि औषधि दिने गरिन्थ्यो ।
विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । बीमाअन्तर्गत हाल एक लाख रुपैयाँसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउँछन् । एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बीमितवापत तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप सात सय थप्नुपर्छ ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म ७४ लाख बीमित भए पनि करिब ४७ लाख मात्रै सक्रिय छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij