Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल

  • 194
    SHARES
  • सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताउका छन ।

    मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उनले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताएका हुन ।

    ‘देशभरीको सुकुमबासी समस्या सामाधान गर्न कानुनमा जहाँजहाँ बाधा छन्, ती अड्चन फुकाउने र लालपुर्जा वितरणलाई सहज बनाउने प्रक्रिया सुरु गरिसकेको छु’, प्रधानमन्त्री दाहालले भने, ‘सुकुम्बासी समस्याको दिगो समाधानमा सरकार केन्द्रित भएको छ ।’

    मिक्लाजुङमा किसानले उत्पादन गरेको दूधको भुक्तानी रोकिएको विषयमा आफूले भर्खरै जानकारी पाएको उल्लेख गर्दै उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दूग्ध विकास संस्थानसँग छलफल गरेर किसान पाउनुपर्ने रकम चाँडै नै भुक्तानीको व्यवस्था मिलाइने बताए ।

    किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै प्रधानमन्त्री दाहालले केही दिनअघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको जनाए ।

    ‘उखु किसानको झन्डै ५२ करोड बक्यौता तिर्न बाँकी रहेछ । मन्त्रिपरिषद्बाट उक्त रकम भुक्तानीको निर्णय भएको छ । उखुको न्यूनतम् मूल्य पनि निर्धारण गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘दुग्ध किसानको पनि लामो ऋण बाँकी छ, त्यो ऋण तिर्न र सहुलियतमा ऋण उपलब्ध गराउन पहल गर्छु ।’

    एक वर्षको अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले अर्को वर्ष नयाँ ढंगबाट काम गर्ने दृढता व्यक्त गरे ।

    ‘मैले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु’, प्रधानमन्त्री दाहालले भने, ‘अब जनताका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।’ सिंहदरबारमा विभिन्न मन्त्री र सचिवलाई बोलाएर मन्त्रालयका कामका बारेमा जानकारी लिँदै आएको उल्लेख गर्दै उनले लक्ष्य प्राप्त गर्ने दिशामा अघि नबढ्ने मन्त्री परिवर्तन गर्ने बताए ।

    अब ठीक ढंगले काम भएन, आफूले प्रतिबद्धता व्यक्त गरेको काम पनि कतिपय मन्त्रालयले पूरा गरेका छैनन्, त्यस्ता मन्त्रालयहरुलाई पुर्नगठन गरेर, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु’, प्रधानमन्त्री दाहालले भने ।

    प्रदेशको नामकरणको विषयमा जनताले व्यक्त गरेको चिन्ताका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्दै उनले राजनीतिक दल र आन्दोलनरत पक्षसँग छलफल गरेर समस्या समाधान गरिने जानकारी दिए ।
         

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij