रेश्मा सिंह
काठमाडौं । गर्मीयाम र वर्षातको समय सुरुभएसँगै नेपालमा सर्पदंशका घट्ना वृद्धि हुन्छ । खासगरी तराईका ग्रामीण भेगमा सर्पदंशका घटना बढी हुने गर्छ । वर्षा सुरु भएपछि दुलोमा बस्ने सर्प निस्कन थाल्छ । तराईमा विषालु सर्प पनि हुन्छन । तर सबै सर्प विषालु भने हुदैनन् ।
वर्षामा खेती हुने, घाँस दाउरा गर्नुपर्ने, गाईवस्तु चराउनु पर्ने भएकाले सर्पसँग साक्षात्कार हुने संभावना बढी हुन्छ । यस्तो बेला सर्पले टोक्न सक्ने संभावना पनि बढी नै हुन्छ ।
सुख्खा ठाउँ खोज्दै सर्पहरु घरमै पनि प्रवेश गर्न सक्छन् । काठका घर र झुपडी घरमा छिरेर सुतेकै ठाउँमा पनि सर्पले टोकेका घटना सार्वजनिक भइरहेका हुन्छन् ।
यसरी सर्पले डसेपछि समयमै अस्पताल लैजानु पर्छ । समयमै अस्पताल नपुग्दा मृत्यु हुने संभावना पनि हुन्छ ।
सर्पदंशको दृष्टिले नेपाल जोखिमपूर्ण
सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र मानिन्छ । नेपाल, भारत, अफ्रिका, मलेशिया आदि बढी सर्प प्रभावित देश हुन् । नेपालको हावापानी सर्प बस्नको लागि उचित मानिन्छ ।
नेपालमा धेरै गर्मी र धेरै जाडो नहुने भएकोले सर्पका लागि उपयुक्त हुने विज्ञहरूको भनाइ छ । सर्पले २३ डिग्रीदेखि ३७ डिग्री सेन्टीग्रेड तापक्रम मात्र सहन्छ जुन नेपालमा उपलब्ध छ । त्यसैगरी मनसुन हुनु वा गर्मी मौसममा पानी पर्नुले पनि सर्पलाई अनुकूल बनाइदिएको छ ।
अर्कोतिर नेपालमा खेती धेरै हुन्छ । खेत, बारी सर्पका लागि उपयुक्त बासस्थान हो । बाली खान आउने कीरा, मुसा, छेपारा सर्पका मुख्य भोजन हुन् ।
कुन समयमा जोखिम बढी ?
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक हेर्दा नेपालमा चैतदेखि कार्तिकसम्म सर्पदंशका घटना बढी हुने गरेको देखिन्छ । अन्य महिनामा केही कम सर्पदंशका घटना हुने गर्छ ।
नेपालमा प्रायः गर्मी र वर्षाका बेला सर्पदंशका घट्ना बढी हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए । उनकाअनुसार यो समयमा पानी अत्यधिक पर्ने भएकाले माटोमुनि बसेका सर्प सुख्खा ठाँउको खोजीमा बाहिरतिर निस्कन्छन् । यो बेलामा किसानी गर्ने व्यक्तिहरु पनि खेतबारीमा काम गर्न जान्छन् । यो बेला सर्पदंशका घट्ना हुने सम्भावना बढी हुन्छ ।
सावधानी
सर्पदंशबाट बच्नका लागि गर्मी तथा बर्षातको समयमा सावधानी अपनाउन डा. पुन सुझाउँछन् । गमबुटको प्रयोग, तराईतिर सुत्दा झूल लगाउने जस्ता सावधानी अपनाउनु पर्छ । राति टर्च लिएर मात्र बाहिर निस्कने, कतै जानु पर्दा जुत्ता लगाउनेजस्ता सावधानी अपनाउनु पर्ने पुन बताउँछन् ।
सर्पले टोकेमा के गर्ने ?
सर्पले टोकेपछि कपडा, डोरी र रबरले कसिलोगरी बाँध्ने चलन छ । त्यसरी कसिलोसँग बाँध्न हुँदैन । कसिलो बाँध्दा रक्तसञ्चार नभएर सर्पले टोकेको भागको रक्तकोषिका मर्नसक्छ । यस्तो भएमा अंग नै काट्नुपर्ने अवस्था आउनसक्छ । सर्पले टोकेको ठाउँमा चुस्ने गर्नुहुँदैन ।
सर्पले टोकेको घाउभन्दामाथि कपडाले वा कुनै ब्यान्डेजले हल्का बाँध्नुपर्छ । यसले अत्यधिक रगत बग्नबाट बचाउँछ । सर्पले टोकेको व्यक्तिले कसिलो कपडा लगाएको छ भने खोलिदिनु पर्छ ।
सर्पदंशको उपचार हुने अस्पतालको जानकारी राख्नुपर्छ । सर्पले टोकेमा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजाने व्यवस्था मिलाउनु पर्छ ।
नेपालमा हुने विषालु सर्प गोमन र करेत हुन् । यी सर्पकाे टोकाइबाट स्नायु प्रणाली र मुटुमा असर गर्छ । त्यसले गर्दा आँखाको लोतीमा प्यारालाइसिस भएर नचल्ने हुन्छ । मुख, जीब्रो, घाँटी, गर्दन र फोक्सो चलाउने मांसपेशी प्यारालाइसिस हुँदै गएपछि श्वास फेर्नै नसकेर बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले बिरामीलाई जतिसक्दो चाडो अस्पताल लैजानु पर्ने डा. पुन बताउँछन् ।
सबै अस्पतालमा सर्पले टोकेको बिरामीको उपचार नहुन सक्छ । त्यसैले सर्पदंशको उपचार हुने अस्पतालको बारेमा थाहा हुनु जरुरी हुन्छ ।
सर्पदंशको उपचार हुने अस्पतालकाे सूची



Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij