Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पानीको समस्या समाधान गर्न ताल निर्माण

पानीको समस्या समाधान गर्न ताल निर्माण

  • 253
    SHARES
  • पानीको समस्या समाधान गर्न ताल निर्माण

    जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिका-३ स्थित पाटुमा मधेस प्रदेशकै सबैभन्दा ठूलो ताल निर्माण गर्न लागिएको छ ।

    यस क्षेत्रमा वर्षेनि हुने पानीको समस्यालाई मध्यनजर गर्दै मधेस प्रदेशको चुरे फेदमा पानी पुनर्भरण गर्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको बर्दिवासका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।

    बर्दिवास-३ स्थित पुछर पाटुमा रहेको रातो नदीको नदी उकास जग्गा दिनप्रतिदिन अतिक्रमण भइइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको नगर प्रमुख क्षेत्रीले बताए ।

    चुरे अतिक्रमणका कारण दिनदिनै पानीका मुहान सुकिरहेको जनगुनासो बढिरहेका बेला स्थानीय सरकारले ‘रिचार्ज’ पोखरी र ताल निर्माणमा ध्यान दिन थालेको स्थानीय रमेश खत्रीले बताए ।

    महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासमा बनाउन लागिएको मधेस प्रदेशकै सबैभन्दा ठूलो तालले स्थानीय सरकार चुरे संरक्षणमा संवेदनशील बन्दै गएको उनको बुझाइ छ ।

    रातो नदीको नदी उकास जग्गालाई उपयोग गर्दै मधेसकै सबैभन्दा ठूलो ताल निर्माण भएपछि यस क्षेत्रमा पानीको समस्या समाधान हुने स्थानीय उमेश पोखरेलले बताए ।

    नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानीयको आयआर्जनमा मात्र नभइ नगरको मुख्य आयस्रोत बन्न सक्ने बर्दिवास-३ का वडाध्यक्ष विराट विष्टले बताए ।

    ताल परिसरमा चराचुरुंगी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी ताल बनाउने योजना नगरपालिकाको छ । साथै बर्र्दिवास क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्घिसँग जोड्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले बर्दिबासको उत्तर शिरैमा पर्ने पाटुमा रहेको रातो नदीको नदी उकास जग्गामध्य करिब ४० बिघा क्षेत्रफलमा ताल निर्माण गर्न लागेको हो ।

    त्यो क्षेत्रफलका हिसाबले मधेस प्रदेशकै ठूलो ताल हुने जनाइएको छ । नगरपालिकाले आवश्यक कागजात र प्राविधिक कुरा मिलाइ सकेको तथा चाँडै ताल निर्माणको प्रक्रिया थालनी गरिने नगर प्रमुख क्षेत्रीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij