वेबटिभी खबर
झापा । मेचीनगर-११ कालिका टोलकी ४२ वर्षीया संगीता निरौला गहिरो निन्द्रामा थिइन् । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्याउँदै उनी कोठाबाट बाहिर निस्कए ।
कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्यो । संगीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन् ।
हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो । भुइँमा ढलेका दम्पती बेहोस भए । हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए ।
संगीताले दुई साताअघिको घटनाबारे जानकारी दिँदै भनिन्, ‘आत्तिएर भाग्ने क्रममा थियौँ, अगाडि हात्ती उभिइरहेको रहेछ । सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटि आम्दा अस्पतालमा मात्र हाम्रो होस खुलेको थियो ।’
हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका निरौला दम्पतीले ऋण खोजेर उपचार गराउनु परेको बताएका छन् । आफ्नो जग्गा नभएका उनीहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने सर्तमा बस्दै आएका छन् । टिनले छाएको भुइँतले दुई कोठाको घर छ । मेघनाथ न्यून दृष्टिका कारण दुवै आँखा देख्न सक्दैनन् ।
संगीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पतीको गुजारा चलाइरहेकी छिन् । उनले भनिन्, ‘आँखा नदेख्ने भएकाले मैले उहाँ (मेघनाथ)लाई डोहोर्याएर कोठाबाट बाहिर निकालेको थिए । हात्तीले आँगनमै झम्टेला भन्ने कल्पना पनि गरेका थिएनौँ, धन्न बाँचियो ।’
धुलाबारीको मेची आम्दा र भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा उपचार गरेर निरौला दम्पती अहिले घरमै बसेर औषधि खाइरहेका छन् ।
संगीताको कम्मर र मेरुदण्डमा असर परेको छभने दुवै खुट्टाको लिगामेन्ट च्यातिएको चिकित्सकहरुले बताएका छन् । मेघनाथको खुट्टामा भित्री चोट छ ।
अस्पतालमा पुग्दा चटपटे बेचेर कमाएको पाँच सय मात्र थियो संगीताका साथमा । गाउँलेसँग २६ हजार सापटी मागेर अस्पतालको उपचार खर्च व्यहोरेको उनले बताइन् ।
अस्पतालमा लामो बस्दा खर्चको बिल बढ्ने भएकाले अहिले उनीहरु घरमै आएर ओछ्यान पर्नुभएको छ । हिँड्डुल गर्न नसक्ने भएकाले चटपटे बेच्न जान नपाउँदा दैनिक गर्जो टार्नै मुस्किल परिरहेको संगीताको भनाइ छ ।
निरौला दम्पती जस्तै हात्तीपीडित घाइतेहरु उपचारमा ठूलो धनराशि खर्च भएका कारण बिचल्लीमा परेका छन् । उपचार सहयोग पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियमप्रति पीडितहरु असन्तुष्ट छन् ।
मेचीनगर-२ बाहुनडाँगीका ४२ वर्षीय गोपाल रिजाललाई गत कात्तिक १९ गते घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनायो ।
उनको छातीको १० वटा करङ भाँचिएको थियो भने फोक्सोमा रगत जमेको थियो । डेढ महिना विर्तामोडको बी एन्ड सी हस्पिटलमा उपचार गराएपछि ह्विलचियरमा बस्न सक्ने भएका उनी हालै अस्पतालबाट घर फर्किएका छन् ।
उनको उपचारमा २२ लाख खर्च भएको छ । एककोठे सानो झुपडीमा बस्दै आएका उनीसँग उपचार खर्च व्यहोर्ने सामर्थ्य थिएन । दुई भाइले विदेशमा कमाएर घर बनाउने भनेर ल्याएको रकम उनको उपचारमा खर्च गरिएको छिमेकी कल्याण काफ्लेले बताए ।
उनले भने, ‘गाउँमा तीन लाख जति चन्दा उठ्यो । वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका भाइले ल्याएको सबै रकम लगाउँदा पनि नपुगेपछि आफन्त र छिमेकीहरुबाट ठूलो रकम ऋण लिइएको छ ।’
विदेशमा कमाएको सबै सम्पत्ति दाजुको उपचारमा खर्चिएका भाइहरुको पनि बिचल्ली भएको उनले बताए । कुनै पनि सरकारी कोषबाट उनले हालसम्म उपचार सहयोग पाएका छैनन् ।
विगत दुई महिनामा झापामा हात्तीको आक्रमणमा चारजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।
सरकारले वन्यजन्तुको आक्रमणमा मृत्यु भएकालाई १० लाख दिने र घाइते भएमा अवस्था हेरेर २० हजारदेखि दुई लाखसम्म उपचार खर्च व्यहोर्ने गरेको छ ।
घाइतेको उपचार खर्च पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियम छभने अस्पतालको बिल भरपाईसहित निवेदन दिएको लामो समयपछि मात्र उपचार रकम पीडितले पाउने गरेका छन् ।
हात्तीले आक्रमण गरेको ३५ दिनभित्र पीडितले डिभिजन वन कार्यालयमा उपचारको बिलसहित निवेदन दिइसक्नुपर्ने राईले बताए । बालीको क्षति पनि सरकारले व्यहोर्ने गरेको छ । सरकारले ढिलो र झन्झटिलो प्रक्रियाबाट रकम उपलब्ध गराउने भएकाले विपन्न परिवारका पीडितले बेलैमा उपचार नपाउने अवस्था आएको हात्तीपीडित मेचीनगर-२ का कल्याण काफ्ले बताउँछन् ।
स्थानीय पालिकाबाटै छिटोछरितो तरिकाले हात्तीपीडितलाई उपचार सहयोग पुर्याउन राहत कोष वितरणको व्यवस्था हुनुपर्ने उनको धारणा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij