मुकेश झा
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा शुक्रबार भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।
बरहथवामा प्रदेश स्तरीय अस्पताल बनाउने विषयमा नगरपालिका र स्थानीय जनताबीच भएको विवादले उग्ररुप लिँदा भएको झडपमा एक जनाको मृत्यु भएको हो । प्रदर्शनकारीले नगरपालिकामा दिउँसो ढुंगामुढा गरेका थिए ।
बरहथवाको नगर अस्पताललाई स्तरोन्नती गरी प्रादेशिक अस्पताल बनाउने निर्णयबाट नगरपालिका पछि हटेपछि कांग्रेस लगायतका दलले प्रदर्शन गरेका हुन । १५ शैयाको अस्पताललाई ५० शैयाको बनाउने योजना नगरपालिकाका कारण कार्यान्वयनमा नआउने अवस्था बनेपछि त्यो निर्णयविरुद्ध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले नगरप्रमुख कल्पना कटुवालको घरमा पनि आगजनी प्रयास गरेका थिए । आफ्नो नगरमा आउन लागेको ठूलो अस्पताल नगरप्रमुखको कारण नआउने अवस्था बनेको भन्दै स्थानीय आक्रोशित भएका हुन ।
स्थानीयले नगरपालिकालाई पटकपटक प्रादेशिक अस्पताल नल्याए कडा आन्दोलनको चेतावनी दिँदै आएका थिए । स्थानीयको मागविरद्ध निर्णय भएपछि आन्दोलन भएको हो ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । अश्रुग्यास र हवाई फायर गरेको थियो ।
प्रदर्शन भइरहेका बेला एक युवकको मृत्यु भएको छ । टाउकोबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको स्थानीयले बताए । स्थानीयले गोली लागेर युवकको मृत्यु भएको भने पनि त्यसको पुष्टि प्रहरीले गरेको छैन । जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपेन्द्र पजियारले एक जनाको मृत्यु भए पनि त्यहाँ प्रहरी पुग्न नसकेकोले कारण नखुलेको बताए ।
लाश भएको ठाउँमा प्रदर्शनकारीको ठूलो भिड लागेको र त्यहाँ प्रहरी पुग्न नसकेको हो ।
बरहथवाको अवस्था तनावग्रस्त छ । एक जनाको मृत्यु भएपछि प्रदर्शनकारी थप आक्रोशित भएका छन् ।
आजका लागि बरहथवा नगरपालिकाले डाकेको सर्वदलिय बैठक पनि स्थिति अराजक बन्ने भएपछि स्थगित गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij