Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

निर्वाचनको पूर्वसन्ध्यामा भएको विस्फोटमा १२ जनाको मृत्यु

निर्वाचनको पूर्वसन्ध्यामा भएको विस्फोटमा १२ जनाको मृत्यु

  • माघ २४, २०८० बुधवार १६:५४ बजे
  • 181
    SHARES
  • निर्वाचनको पूर्वसन्ध्यामा भएको विस्फोटमा १२ जनाको मृत्यु

    इस्लामावाद । दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

    क्वेटा शहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो ।

    क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, ‘१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।’

    ‘प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,’ उनले भने ।  

    प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतक र घाइतेको संख्या पुष्टि गरे । निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।

    सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार बर्षपछि अविश्वासको प्रस्तावमार्फत् सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ । 

    बिहीबारको मतदानको दौरान धेरै सुरक्षा घटनाहरू पनि भएका छन्, जसमा कम्तिमा दुई उम्मेदवारहरूको गोली हानी हत्या भएको छ र देशभरि दर्जनौंलाई आक्रमणहरूमा निशाना बनाइएको छ ।

    स्थानीय समयअनुसार बिहीबार बिहान आठ बजे मतदान शुरु भई साँझ पाँच बजे मतदान सम्पन्न हुनेछ ।

    करिब २४ करोड जनसंख्या भएको पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाताले मतदान गर्न पाउनेछन् ।

    राष्ट्रिय र चार वटा प्रान्तीय सभाका लागि करिब १८ हजार उम्मेदवार चुनावी मैदानमा छन्, जसमा २६६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ । यसमध्ये महिला र अल्पसंख्यकका लागि थप ७० र क्षेत्रीय संसद्मा ७४९ स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # विस्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij