Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

वैदेशिक रोजगारीबाट फर्किएर सुन्तला खेती, सुन्तला बेचेर ४० लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएर सुन्तला खेती, सुन्तला बेचेर ४० लाख आम्दानी

  • 242
    SHARES
  • वैदेशिक रोजगारीबाट फर्किएर सुन्तला खेती, सुन्तला बेचेर ४० लाख आम्दानी

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन ।

    वैदेशिक रोजगारीबाट फर्किएर सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन । २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तला खेतीबाट सन्तुष्ट रहेको बताए ।

    महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । कमलले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तला खेतीमा लागेको हुँ ।’

    उनले २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तला खेती अगाडि बढाइरहेका छन । कमलका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन ।

    उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो एक सय २० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए ।

    कमलले भने, ‘गत वर्ष ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’ नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ ।

    महतले नाम्सकोटका करिब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करिब ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए ।

    उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तला खेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो । कमलले यस वर्ष चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जनाए ।

    म्याग्दे गाउँपालिकाका किसानबाट एक करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनले बताए ।

    सुन्तला बगानबाट प्रतिकिलो ७० देखि ७५ मा खरिद गरी एक सय २० सम्म बिक्री गर्ने गरेको कमलले सुनाए । तनहुँमा यस वर्ष कृषकले सुन्तला बिक्री गरेर ३० करोड भित्र्याएका छन ।

    जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए ।

    जिल्लामा यस वर्ष तीन हजार सात सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

    प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ ।

    कार्यालयले सुन्तला खेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अधिकृत धितालले भने, ‘कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।’ तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन ।

    सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij