वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन ।
इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो । साथै सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।
नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले गत पुसमा ललितपुरमा भएको घटनाका दोषीलाई कारबाहीको माग गरे । सो घटनाबारे छानबिन गर्न गठिन समितिले दोषी ठहर्याएका सबै व्यक्तिलाई सरकारले कारबाही गर्न नसकेको तर तल्लो तहका प्रहरी कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप उनले लगाए ।
साथै आर्थिक अनियमताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका व्यक्ति मन्त्रीका रुपमा बहाल रहेको विषयबारे पनि संसदको ध्यानाकर्षण गरे । लुम्बिनीको रामग्राम क्षेत्रलाई निजी कम्पनीलाई भाडामा दिने गरी अघि बढाइएको प्रक्रियाबारे पनि गम्भीर छानबिन गरिनुपर्ने उनको माग थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले बालकुमारी घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले उक्त घटना घट्नुमा भौतिक पूर्वाधार मन्त्री जिम्मेवार रहेको निष्कर्ष निकालेको बताउँदै कारबाहीको माग गरे ।
सरकारले आर्थिक अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्दा सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु अनुसन्धानका लागि तयार रहेको बताए ।
आजको बैठक शुरु हुनेबित्तिकै प्रतिपक्षका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बोल्न समय उपलब्ध गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij